फेरिँदै थारू दसैँका संस्कार
बुटवल।
दसैँ आउनुअघि नै गाउँमा चहलपहल सुरु हुन्थ्यो । छोरीचेलीलाई माइती बोलाउने, गाउँका मुखिया वा बढघरको घरमा नाचगान र बाजागाजासहित पुग्ने अनि सामूहिक रूपमा टीका लगाएर आशीर्वाद लिने चलन थियो । अष्टमी र नवमीका दिन कुलदेवताको पूजा गर्दै ढिकरी चढाइन्थ्यो । गाउँका मानिस एकै ठाउँमा भेला हुँदा दसैँ केवल चाड नभई भेटघाट, आत्मीयता र सांस्कृतिक पहिचानको अवसर बन्थ्यो ।
रूपन्देहीको तिलोत्तमा नगरपालिका–१३, सेमरीका ८० वर्षीय नोखै थारुका स्मृतिमा थारू समुदायको दसैँको पुरानो तस्बिर यस्तै छ । समय फेरिएको छ । अहिले घरघरमै टीका लगाउने, परिवारसँगै चाड मनाउने र दुर्गापूजाका लागि पण्डाल बनाएर सामूहिक पूजापाठ गर्ने चलन बढेको छ । तर, पहिलेको सामूहिकता, पुराना संस्कार र मौलिक सांस्कृतिक अभ्यास भने क्रमशः कमजोर हुँदै गएका छन् ।
थारू समुदायमा दसैँलाई ‘दशहरा’ र दसैँको महिनालाई ‘कुवार’ भनिन्छ । यस समुदायमा दसैँ मनाउने आफ्नै विधि र परम्परा छन् । यद्यपि, बदलिँदो सामाजिक जीवनशैली, एकल परिवारको बढ्दो प्रभाव र अन्य समुदायका संस्कृतिसँगको घुलमिलले ती परम्परामा परिवर्तन ल्याएको छ ।
तिलोत्तमा–१३, सेमरीका परशुराम थारुका अनुसार पहिले गाउँका मुखिया, बढघर वा प्रमुख व्यक्तिको घरमा गएर दसैँको टीका लगाउने चलन थियो । गाउँका सबैलाई मुखिया वा प्रमुख व्यक्तिले टीका लगाइदिने र दक्षिणा दिने परम्परा थियो । टीका लगाउन जाँदा मासु र रक्सी कोसेलीका रूपमा लैजाने चलनसमेत रहेको उनी बताउँछन् ।
अहिले भने गाउँका सबै मानिस एकै ठाउँमा भेला भएर टीका लगाउने परम्परा लगभग हराइसकेको छ । त्यसको सट्टा परिवारका सदस्यले घरमै टीका लगाउने र छोरीचेलीलाई बोलाएर दसैँ मनाउने चलन बढेको छ ।
नोखै थारुका अनुसार पहिले दसैँ आउनुभन्दा आठ दिनअघिदेखि नै छोरीचेलीलाई माइती बोलाउने गरिन्थ्यो । माइतीमा भेला भएर रमाइलो गर्ने र आफन्तसँग समय बिताउने परम्परा थियो । अहिले व्यस्त जीवनशैली र एकल परिवारको प्रभावले छोरीचेली लामो समयसम्म माइतीमा बसेर दसैँ मनाउने चलन पनि घट्दै गएको छ ।
उनका अनुभवमा दसैँको बाहिरी रौनक फेरिए पनि पहिलेको सामूहिक भेटघाट र आत्मीयता भने घट्दै गएको छ ।
थारू समुदायको दसैँमा कुलदेवताको पूजा र ढिकरी चढाउने परम्पराको विशेष महत्व छ । नोखै थारुका अनुसार पहिले अष्टमी र नवमीका दिन व्रत बस्ने, मकैको भुजा खाने र कुलदेवतालाई ढिकरी चढाउने चलन थियो । पूजा गर्दा चढाइने सबै ढिकरी एउटै व्यक्तिले बनाउनुपर्ने परम्परासमेत रहेको उनी सम्झन्छन् ।
साँझमा कुलदेवताको पूजा गर्ने, ढिकरी चढाउने र खरको कुचो बनाएर राख्ने चलन पनि थियो । जमरा राख्ने परम्परा पहिलेदेखि नै रहे पनि अहिलेको जस्तो घरघरमै टीका लगाउने अभ्यास भने व्यापक थिएन । यस्ता परम्परा परिवार र समुदायको धार्मिक विश्वाससँग मात्र जोडिएका थिएनन्, पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको ज्ञान र जीवनशैलीका हिस्सा पनि थिए ।
तर, पुराना अभ्यासलाई निरन्तरता दिनेभन्दा नयाँ चलन अपनाउने क्रम बढ्दै जाँदा कतिपय संस्कार अहिले सम्झनामा मात्र सीमित हुन थालेका छन् ।थारू समुदायमा दसैँका बेला दुर्गापूजा, सामूहिक भजनकीर्तन र देवीको आराधना गर्ने चलन पनि छ । गाउँमा दुर्गाका मूर्ति स्थापना गरी पण्डाल बनाएर सामूहिक पूजापाठ गर्ने परम्पराले अझै निरन्तरता पाइरहेको छ । यस परम्परामा मूर्तिको अनुहार छोपेर राख्ने चलन पनि रहेको स्थानीय बताउँछन् । मूल्यवान् वस्तु चढाउने भाकल गरेका व्यक्तिले मूर्तिको अनुहार खोल्ने र भाकलअनुसार चढाइएको वस्तु पुजारीले प्राप्त गर्ने परम्परा रहेको छ । विजयादशमीका दिन देवी अपराजिताको पूजा गरी मूर्तिलाई नजिकैको नदी वा खोलामा लगेर विसर्जन गर्ने गरिन्छ ।
स्थानीय पुजारी दुखिराम दासका अनुसार पहिले नाद अर्थात् लामा धामा लगाएर दुर्गा स्थापना गर्ने चलन थियो । अहिले भने वेदअनुसार दुर्गापूजा गर्ने अभ्यास बढेको छ । यसले थारू समुदायको धार्मिक अनुष्ठानमा समेत समयअनुसार परिवर्तन आएको देखाउँछ ।
दसैँसँग जोडिएको पितृ औँसी अर्थात् ‘अमौसा’ मनाउने चलन पनि पहिले विशेष महत्वको थियो । अहिले भने यो परम्परा कमजोर हुँदै गएको स्थानीय बताउँछन् । यससँगै पुर्खाको सम्झना र पितृसँग सम्बन्धित सांस्कृतिक अभ्याससमेत ओझेलमा पर्न थालेका छन् ।
थारू समुदायको भाषा, भेषभूषा, खानपान र संस्कारले छुट्टै सांस्कृतिक पहिचान बनाएका छन् । घोँघी, ढिकरी र पतुसनीजस्ता परिकार यस समुदायको मौलिक खानपानका परिचायक हुन् । तर, परम्परागत परिकार बनाउने र खाने अभ्यासले मात्रै संस्कृति संरक्षण नहुने नोखै थारुको भनाइ छ । उनी नयाँ पुस्ताले आफ्नै भाषा र संस्कृतिभन्दा पश्चिमेली संस्कृतिलाई बढी प्राथमिकता दिन थालेकोमा चिन्ता व्यक्त गर्छन् । उनका अनुसार भाषा बोल्ने, पुराना संस्कारको अर्थ बुझ्ने, चाडपर्व मनाउने विधि सिक्ने र पुर्खाबाट हस्तान्तरण भएका परम्परालाई व्यवहारमा उतार्ने कामले मात्रै मौलिक पहिचान जोगाउन सकिन्छ ।
नेपालको पूर्वदेखि पश्चिमसम्म तराई क्षेत्रमा बसोबास गर्ने थारू समुदायभित्र पनि क्षेत्रअनुसार भाषा, भेषभूषा र सांस्कृतिक अभ्यासमा विविधता छ । त्यसैले सबै क्षेत्रका थारू समुदायले आ–आफ्ना मौलिक परम्पराको अभिलेखीकरण, अभ्यास र पुस्तान्तरणमा ध्यान दिनुपर्ने उनको सुझाव छ ।
The post फेरिँदै थारू दसैँका संस्कार appeared first on Butwal Today .
The full article is being collected. Available text is shown for now.