मादलले धानेको चित्रे बादीको जिन्दगी
दाङ । दाङका चित्रे बादीको पेशा मादलले धानेको छ । कमेरोले लिपेर चिटिक्क पारिएको सानो कच्ची घर । घरको सानो आँगनभरि साना–ठूला मादल छरिएका छन् । कतै नयाँ मादल बनाउन राखिएका छन् त कतै मर्मतका लागि ल्याइएका । आँगनको एक कुनामा बसेर चित्रे बादी एकनासले मादलमा खरी भर्दै छन् ।
बिहानको उज्यालोसँगै सुरु हुने उनको काम बेलुकीसम्म पनि रोकिँदैन । उमेरले ७१ वर्ष पुगे पनि मादल बनाउने र मर्मत गर्ने उनको जाँगर भने अझै उस्तै छ ।
घोराही उपमहानगरपालिका–१७ पचुर्खामा बसोबास गर्दै आएका बादी समुदायका चित्रे बादीलाई यतिबेला मादल बनाउन र मर्मत गर्न भ्याइनभ्याइ छ । दशै , तिहार नजिकिएसँगै मादलको माग बढेपछि उनको व्यस्तता पनि थपिएको हो । विशेषगरी तिहारमा देउसी–भैलो खेल्ने समूहले मादल खरिद गर्ने, पुराना मादल मर्मत गर्ने, खरी भर्ने र छाला फेर्ने भएकाले उनको घरमा ग्राहकको चहलपहल बढ्न थालेको छ ।
दसैमा थारु समुदायले सख्या नाचका लागि मादल बनाउन आउने गरेको उनले बताए । दसै र तिहार पर्व नेपाली समाजमा सांस्कृतिक र सामाजिक सद्भावको पर्वका रूपमा मनाइन्छ । यस अवसरमा देउसी–भैलो खेल्ने परम्पराले गाउँघरदेखि सहरबजारसम्म छुट्टै रौनक थप्छ । देउसी–भैलोमा मादलको तालले उत्सवलाई थप रमाइलो बनाउने भएकाले यस समयमा मादलको माग बढ्ने गरेको चित्रे बादी बताउँछन् । अन्य समयको तुलनामा तिहारमा मादल बिक्री र मर्मतबाट राम्रो आम्दानी हुने गरेको उनको अनुभव छ ।
“अरू समयमा भन्दा दसै–तिहारमा मादलको माग धेरै हुन्छ । नयाँ मादल किन्नेदेखि पुराना मादल मर्मत गर्नेसम्मका ग्राहक आउँछन्,” उनले भने, “यतिबेला बिहान उज्यालो भएदेखि बेलुकीसम्म काममै व्यस्त हुनुपर्छ ।”
१२ वर्षको उमेरदेखि मादल बनाउँदै
चित्रे बादीको मादल बनाउने यात्रा बाल्यकालदेखि नै सुरु भएको हो । उनका बुवा गुइठे बादी पनि मादल बनाउने काम गर्थे । बुवाले मादल बनाएको देख्दै, सिक्दै र उनलाई सघाउँदै उनले यो सीप सिकेका हुन् । अरू पेसा रोज्नुभन्दा पुख्र्यौली सीपलाई निरन्तरता दिदै अगाडि बढेको बताउँछन् ।
“बुवा गुइठे बादी मादल बनाउनुहुन्थ्यो । उहाँले बनाएको देखेर सिकेँ । उहाँकै सिको गरेर मैले पनि १२ वर्षको उमेरदेखि मादल बनाउन थालेको हुँ,” उनले आफ्नो अनुभव सुनाए ।
बाल्यकालमा सिकेको यही सीप आज उनको जीवनको मुख्य आधार बनेको छ । मादल बनाउने, खरी भर्ने, छाला फेर्ने र पुराना मादल मर्मत गर्ने कामबाटै उनले आफ्नो परिवारको जीविका चलाउँदै आएका छन् । यही पेसाबाट चार छोरा र दुई छोरी हुर्काएको उनी बताउँछन् । जीवनका धेरै वर्ष मादल बनाउनमै बिताएका चित्रे बादीका लागि यो केवल आम्दानीको माध्यम मात्र होइन, पुर्खाबाट प्राप्त सीप र पहिचान पनि हो । समयसँगै धेरै कुरा परिवर्तन भए पनि उनले आफ्नो पेसा छाडेका छैनन् । उमेर बढ्दै जाँदा शारीरिक रूपमा काम गर्न कठिन भए पनि ग्राहकको माग पूरा गर्न सकेसम्म सक्रिय रहने उनको प्रयास छ ।
चित्रे बादीले ग्राहकको आवश्यकता र मादलको आकारअनुसार विभिन्न प्रकारका मादल बनाउने गरेका छन् । साना आकारका मादलदेखि ठूला मादलसम्म तयार पार्ने उनी पुराना मादलको मर्मतसमेत गर्छन् । नयाँ मादलको आकारअनुसार सात हजार रूपैयाँदेखि १५ हजार रूपैयाँसम्ममा बिक्री हुने गरेको उनले बताए । तिहारमा देउसी–भैलो खेल्ने समूह, सांस्कृतिक कार्यक्रम आयोजना गर्ने व्यक्ति तथा मादल बजाउने रुचि भएका मानिस उनका नियमित ग्राहक हुन् । नयाँ मादल किन्न नसक्ने वा पुरानो मादल नै प्रयोग गर्न चाहनेहरू मर्मतका लागि आउने गर्छन् ।
कसैले मादलमा खरी भर्न लगाउँछन् भने कसैले छाला फेर्न र मादल कस्न ल्याउने गरेका छन् । उनको घरमा दाङका घोराही, तुलसीपुर, नारायणपुर र लमहीलगायतका स्थानबाट ग्राहक आउने गरेका छन् । प्युठान र रोल्पाबाट समेत मादल खरिद गर्न तथा मर्मत गराउन मानिस आउने गरेको उनले बताए ।
यसले चित्रे बादीको सीप स्थानीय क्षेत्रमा मात्र सीमित नभई आसपासका जिल्लासम्म परिचित भएको देखाउँछ । ग्राहकको विश्वास र वर्षौंदेखिको अनुभवले उनको पेसालाई निरन्तरता दिन सहयोग पुगेको छ ।
तिहारको समयमा हुने आम्दानीले घरखर्च चलाउन केही सहज हुने उनको भनाइ छ । यद्यपि मादल बनाउने काममा लाग्ने समय, कच्चा पदार्थको व्यवस्थापन र शारीरिक मेहनत कम छैन । एउटा मादल तयार पार्न काठको छनोटदेखि त्यसलाई आकार दिने, छाला राख्ने र आवश्यक ध्वनि निकाल्न मिलाउनेसम्मका काम गर्नुपर्छ ।
चित्रे बादीको मादल बनाउने काममा उनकी श्रीमती भूमि बादीले पनि सहयोग गर्दै आएकी छन् । श्रीमानले जस्तै नयाँ मादल बनाउन नसके पनि मादल तयार पार्ने क्रममा आवश्यक पर्ने विभिन्न काममा आफूले साथ दिने गरेको उनले बताइन् ।
भूमिले मादलमा प्रयोग गरिने खरी बनाउन, छाला काट्नेलगायतका काममा सहयोग गर्छिन् । श्रीमानको काममा सघाउँदा परिवारको पेसा निरन्तरता दिन सहज भएको उनको अनुभव छ ।
“मलाई नयाँ मादल बनाउन आउँदैन । तर उनलाई काममा सहयोग गर्छु । खरी बनाउने, छाला काट्नेलगायतका काम गर्छु,” भूमि बादीले भनिन् । परिवारको जीविका चलाउन श्रीमान्–श्रीमती दुवैको श्रम जोडिएको छ । मादल बनाउने काममा चित्रे बादीको लामो अनुभव र भूमिको सहयोगले परिवारको पुख्र्यौली पेसालाई निरन्तरता दिन मद्दत पुगेको छ ।
उनका कान्छा छोराले पनि मादल बनाउन सिकेका छन् । यसले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीप परिवारभित्रै नयाँ पुस्तामा सर्ने सम्भावना देखाएको छ । पुर्खाबाट सिकेको सीपलाई छोराले पनि सिक्न थालेपछि चित्रे बादी आफ्नो अनुभव र ज्ञान परिवारभित्रै हस्तान्तरण हुनेमा आशावादी छन् ।
मादल बनाउनु सामान्य काम होइन । यसका लागि काठको छनोट, त्यसलाई आवश्यक आकारमा ढाल्ने, दुवैतर्फ छाला राख्ने, छाला कस्ने र मादलमा खरी भर्ने काम गर्नुपर्छ । मादलको आवाज राम्रो बनाउन काठको गुणस्तर र बनाउने तरिकाले महत्त्वपूर्ण भूमिका खेल्ने चित्रे बादीको अनुभव छ ।
उनी मादल बनाउन खिर्रो, मौवा, मलेतो र खमारीलगायतका काठ प्रयोग गर्छन् । उनका अनुसार मौवा र खमारीको काठबाट बनेका मादलमा स्वर राम्रो सुनिन्छ । त्यसैले काठ छनोट गर्दा उनी विशेष ध्यान दिने गर्छन् ।
मादलको बाहिरी बनावट राम्रो हुनु मात्र पर्याप्त हुँदैन । बजाउँदा स्पष्ट र सन्तुलित आवाज निस्कनु पनि उत्तिकै आवश्यक हुन्छ । त्यसका लागि काठको गुणस्तर, छालाको अवस्था र खरी भर्ने तरिकामा ध्यान दिनुपर्ने उनी बताउँछन् ।
वर्षौँको अभ्यास र अनुभवले चित्रे बादीलाई मादलको बनावट तथा आवाजबारे राम्रो ज्ञान दिएको छ । कुन काठ उपयुक्त हुन्छ, मादलमा छाला कसरी राख्ने र खरी कसरी भर्ने भन्ने कुरा उनले लामो समयको अभ्यासबाट सिकेका हुन् । यही अनुभवले उनलाई ग्राहकको आवश्यकता पूरा गर्न सहयोग पु¥याएको छ ।
आधुनिक मनोरञ्जनका साधन र प्रविधिको विकाससँगै परम्परागत बाजा बनाउने पेसालाई निरन्तरता दिनु महत्वपूर्ण बन्दै गएको छ । मादल नेपाली लोकसंस्कृति, लोकगीत, नाचगान र विभिन्न सांस्कृतिक पर्वसँग जोडिएको बाजा हो । दशैको नाच र तिहारमा देउसी–भैलो खेल्दा मादलको तालले विशेष महत्व राख्छ ।
चित्रे बादीले आफ्नो जीवनको ठूलो हिस्सा यही बाजा बनाउन र मर्मत गर्नमा बिताएका छन् ।
The post मादलले धानेको चित्रे बादीको जिन्दगी appeared first on Butwal Today .
The full article is being collected. Available text is shown for now.