← globalread.info

corporatekhabar.com · 10/13/2026 · 0 views

Share this story

यी हुन् आज दिनभरका प्रमुख २० समाचार

Story illustration

काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १२ वटा समस्याग्रस्त सहकारीका २३५ जना बचतकर्ताको रकम फिर्ता गरेको छ । समितिका अनुसार पहिलो चरणमा थोरै रकम बचत गरेका बचतकर्तालाई रकम फिर्ता गरिएको हो । सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनका क्रममा प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको जनाएको छ । बचतकर्ताको रकम फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्थाअनुसार निरन्तर भइरहेको समितिले स्पष्ट पारेको छ ।

पहिलो चरणमा थोरै बचत भएका बचतकर्तालाई प्राथमिकता दिइएको र आगामी दिनमा बचत रकमका आधारमा वर्गीकरण गरेर क्रमशः रकम फिर्ता गरिने समितिले जनाएको छ । समितिका अनुसार कृषि विकास सहकारीका ४ जना, गोरखा सहकारीका ११ जना, आइडियल यमुना सहकारीका ६ जना र कान्तिपुर सहकारीका ८० जना बचतकर्ताले रकम फिर्ता पाएका छन् । त्यस्तै, नेपाल वित्तीय सहकारीका १२ जना, ओरिएन्टल सहकारीका ३७ जना, शिव शिखर सहकारीका ६२ जना र पशुपति सहकारीका ४ जना बचतकर्ताको रकम फिर्ता गरिएको छ ।

यसैगरी, तपाईं हाम्रो सहकारीका १० जना, स्ट्यान्डर्ड सेभिङ सहकारीका ४ जना, लालीगुराँस सहकारीका १३ जना र गौतम श्री सहकारीका १ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् । समस्याग्रस्त सहकारीबाट ऋण असुली र सम्पत्ति व्यवस्थापन गरी प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने प्रक्रिया निरन्तर अघि बढाइएको समितिले जनाएको छ ।

२- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री महिलातर्फ प्रतिमा गौतमले जित हासिल गरेकी छन् । एक पदका लागि भएको प्रतिस्पर्धामा गौतमले उनकी प्रतिस्पर्धी नानुमैया बास्तोलालाई पराजित गरेकी छन् । त्यस्तै खुला तर्फको सहमहामन्त्रीमा रामहरी खतिवडा र अजयबाबु शिवाकोटी विजयी भएका छन् ।

३- नेपालले ओमानलाई ११३ रनले पराजित गरेको छ । ओमानको अल अमेरात स्टेडियममा मंगलबार सम्पन्न खेलमा नेपालले ओमानलाई ११३ रनले पराजित गरेको हो । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको यस खेलमा नेपालले दिएको २६४ रनको लक्ष्य पछाएको ओमानले४० ओभरमा अल आउट हुदै केवल १५० रन मात्र बनाएको थियो । ओमानको ब्याटिंग लाइन ध्वस्त पार्न नेपाली बलर नन्दन यादव र सन्दीप लामिछानेले ३-३ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले २ तथा करण केसी र ललित राजबंशीले एक एक विकेट लिएका थिए ।

त्यस्तै ओमानका लागि कप्तान विनायक शुक्लाले सर्बाधिक ७७ रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ५० ओभरमा ८ विकेट गुमाउदै २६३ रन बनाएको थियो । नेपालका लागि रोहित पौडेलले सर्बाधिक ६१ रन बनाए भने अर्जुन कुमाल र करण केसीले ४०-४० रन बनाएका थिए । त्यस्तै बशीर अहमद र इशान पाण्डेले ३७-३७ तथा दिपेन्द्र सिंह ऐरीले २२ रन बनाएका थिए । त्यस्तै ओमानका बलर साह फैजल, शकील अहमद र करण सोनावालेले २-२ तथा हसनैन शाहले एक विकेट लिएका थिए । यो जित पछि नेपालको ३४ खेलमा २८ अंक भएको छ र लिग-२ को अंक तालिकामा छैटौं स्थानमा छ । अब नेपालले अर्को खेल अक्टोबर १७ मा क्यानडासँग र अक्टोबर १९ मा ओमानसँग खेल्ने तालिका छन् ।

४- राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमि सम्बन्धी कानुन संशोधन गर्ने दुई अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार दुवै अध्यादेश जारी गरेका हुन् । राष्ट्रपतिको कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार जारी अध्यादेशमा ‘वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ रहेका छन् ।

५- गृहमन्त्री सुधन गुरुङले आतंकवाद र अन्तरदेशीय अपराध नियन्त्रणका लागि क्षेत्रीय सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिएका छन् । नयाँदिल्लीमा आयोजित बिम्स्टेकका गृहमन्त्रीहरूको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले सुरक्षित सूचना आदानप्रदान, समन्वयात्मक प्रतिकार्य र भएका प्रतिबद्धताको समयमै कार्यान्वयन आवश्यक रहेको बताएका छन् । गृहमन्त्री गुरुङले विपद् पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन संयुक्त कार्यदलसहितको बिम्स्टेक क्षेत्रीय ढाँचा निर्माण गर्न प्रस्ताव गरेका छन् । यसबाट सदस्य राष्ट्रहरूको सामूहिक विपद् प्रतिरोधात्मक क्षमता सुदृढ हुने उनको भनाइ थियो । उनले बैठक आयोजना गरेकोमा भारतलाई धन्यवाद दिँदै नेपालमा हालै भएका विपद्का बेला सदस्य राष्ट्रहरूले देखाएको ऐक्यबद्धताप्रति आभार व्यक्त गरेका छन् ।

६- गृहमन्त्री सुधन गुरुङले भारतका केन्द्रीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् । नयाँदिल्लीमा आयोजित बिम्स्टेकका गृहमन्त्रीहरूको पहिलो बैठकका क्रममा भएको भेटमा द्विपक्षीय सुरक्षा सहकार्य सुदृढ गर्ने, सीमा व्यवस्थापनमा समन्वय बढाउने, अन्तरदेशीय अपराध नियन्त्रण गर्ने तथा विपद् पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । भेटमा गृहमन्त्री गुरुङले नेपालमा हालै आएको बाढीपहिरोपछि भारतले समयमै उपलब्ध गराएको सहयोगप्रति आभार व्यक्त गरेका छन् । उनले सार्वभौम समानता, पारस्परिक सम्मान र विश्वासका आधारमा दुवै देशका जनताको हित हुने व्यावहारिक सहकार्यलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।

७- पूर्व–पश्चिम हिमाली पर्यटकीय राजमार्ग निर्माणको दिशामा सम्भाव्यता अध्ययन सुरु गरिएको छ । पहिलो चरणमा अपिनाम्पा–सैपाल–बडीमालिका र नुम–पाथीभरा सडक खण्डको अध्ययनका लागि नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेड र सडक विभागबीच सम्झौता भएको छ । सम्झौताअनुसार अपिनाम्पा–सैपाल–बडीमालिका सडक खण्डको १०५ किलोमिटर र नुम–पाथीभरा सडक खण्डको ४५ किलोमिटर क्षेत्रमा सम्भाव्यता अध्ययन गरिनेछ । नेपाल पूर्वाधार निर्माण कम्पनी लिमिटेडले आयोजनाको प्राविधिक, आर्थिक, सामाजिक तथा वातावरणीय पक्षको अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ। सोही प्रतिवेदनका आधारमा बडीमालिका, पाथीभरा लगायतका पर्यटकीय क्षेत्रलाई सडक सञ्जालमा जोड्न आवश्यक पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाइनेछ । हिमाली क्षेत्रलाई पर्यटनसँग जोड्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा हिमाली पर्यटकीय राजमार्गलाई नयाँ कार्यक्रमका रूपमा अघि बढाइएको जनाइएको छ ।

८- नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज मंगलबार नेप्से ४.१२ अंकले बढेर २५९९.९३ विन्दुमा पुगेर रोकिएको छ । आज ३५१ कम्पनिका एक करोड ३५ लाख ५३ हजार ९७ कित्ता शेयर ४ अर्ब ७३ करोड ६९ लाख २६ हजार ४०९ मा कारोबार भएको थियो । आज बैकिंग, विकास बैंक, लगानी, जीवन बीमा र निर्जीव बीमा बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सगरमाथा जलविद्युतको शेयर १२.४४ प्रतिशतले बढेको छ भने नेपाल लाइफ समृद्धि योजनाको शेयर पनि ४.६२ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी स्नो रिभरको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको ३६ करोड ४७ लाख बराबरको कारोबार भएको छ भने माउन्टेन इनर्जीको २५ करोड ९७ लाख बराबरको कारोबार भएको छ ।

९- गत भदौ १० गते रसुवा र नुवाकोटमा आएको बाढीका कारण सम्पर्कविहीन हुनुभएका नेपाल विद्युत् प्राधिकरणका कर्मचारीका परिवारलाई तत्कालको राहत रकम प्रदान गर्न थालिएको छ । बाढीका कारण प्राधिकरणमा कार्यरत ४७ जना कर्मचारी सम्पर्कविहीन हुनुभएको थियो । जसमध्ये ६ जनाको परिवारलाई तत्कालको राहत प्रदान गरिएको हो । सम्पर्कविहीन कर्मचारीका आश्रित परिवारलाई जनही ५ लाख रुपैयाँ र ६ महिनासम्म कार्यरत पदको सुरु तलबको आधा रकम उपलब्ध गराउने प्राधिकरण सञ्चालक समितिले निर्णय गरेको थियो । उक्त निर्णयअनुसार आवश्यक आधार र प्रमाणसहित निवेदन दिएका ६ जना हकवालाले राहत रकम प्राप्त गरिसक्नुभएको छ ।

राहत पाउन बाँकी रहेका अन्य हकवालालाई आवश्यक कागजातसहित प्राधिकरणमा निवेदन दिन आग्रहसमेत गरिएको छ । प्राधिकरणका अनुसार राहत रकम प्राप्त गर्न सम्पर्कविहीन कर्मचारी र निवेदकबीचको नाता प्रमाणित हुने प्रमाणपत्र, हकवालाको नागरिकता प्रमाणपत्र तथा नाबालकको हकमा जन्मदर्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ । साथै, आफू नजिकको हकवाला भएको खुल्ने स्थानीय तहको सिफारिसपत्र, बैंक खाता नम्बर र राहत उपलब्ध गराइदिन अनुरोध गरिएको निवेदनसमेत बुझाउनुपर्नेछ । प्राधिकरणको विनियमावली तथा सरकारले घोषणा गर्ने राहत प्याकेज अनुसार आगामी दिनमा अन्य सहयोग हुने प्राधिकरणले जनाएको छ ।

१०- यमनमा जारी युद्धमा अमेरिका सहभागी भए पीडादायी जवाफ दिने हुथी समूहले चेतावनी दिएको छ । हुथी समूहका राजनीतिक ब्युरो सदस्य मोहम्मद अल बुखाइतीले अमेरिकाले यमनमाथि आक्रमण गरे त्यसको तत्काल जवाफ दिइने बताएका छन् । साउदी अरबका तेल केन्द्र, विमानस्थल र अन्य पूर्वाधारमा हुथी समूहले लगातार आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबलाई सहयोग गर्दै हुथीविरुद्धको आक्रमणमा सहभागी हुने सम्भावना विचार गरिरहेको बताएका थिए । शनिबार रियादस्थित विमानस्थलमा भएको आक्रमणमा १३ जनाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए । त्यसपछि साउदी अरबमा सुरक्षा सतर्कता बढाइएको छ ।

सोमबार साउदी नेतृत्वको सैन्य गठबन्धनले यमन सीमानजिक खमिस मुशैततर्फ प्रहार गरिएका दुईवटा क्षेप्यास्त्र रोकिएको जनाएको छ । हुथी समूहले भने साउदीका तेल केन्द्र र विमानस्थललाई पनि लक्षित गर्ने चेतावनी दिएको छ ।आक्रमणको जोखिमका कारण एतिहाद र गल्फ एयरले रियादका उडान रद्द गरेका छन् । अमेरिकी दूतावासले पनि साउदी अरबमा हवाई यात्रा गर्दा सावधानी अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुख भोल्कर टुर्कले साउदी अरबमाथिका लगातार आक्रमणप्रति चिन्ता व्यक्त गर्दै दुवै पक्षलाई तनाव कम गर्न आग्रह गरेका छन् । यमनमा लामो समयदेखि जारी युद्धले देशमा गम्भीर मानवीय सङ्कट निम्त्याएको छ ।

११- अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा सहभागी हुन आज थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेकाछन्। वाग्ले आज दिउँसो १: ३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयरलाइन्सको विमानमार्फत बैंकक गएका हुन् । विश्वभरका अर्थमन्त्री सहभागी हुने उक्त बैठकका क्रममा वाग्लेले १६ वटाभन्दा बढी द्विपक्षीय तथा बहुपक्षीय बैठक र छलफलमा सहभागिता जनाउनेछन् । बैठकमा सहभागी हुन अर्थसचिव डा. घनश्याम उपाध्याय, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख सहसचिव अमृत लम्साल, अर्थमन्त्रीका निजी अधिकृत माधव भण्डारी र अधिकृत गजेन्द्र भट्टराई पनि बैंकक गएकाछन् । अर्थमन्त्री वाग्ले कात्तिक ४ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।

१२- नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बिक्री गर्ने १४ वटा सेवा प्रदायक कम्पनीलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेको छ । प्राधिकरणले अनुमतिपत्रका सर्तविपरीत काम गरेको पुष्टि भएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७ (१) बमोजिम कारबाही गरिएको जनाएको हो । प्राधिकरणका अनुसार स्वीकृत प्याकेजअनुसार सेवा उपलब्ध नगराएको, तोकिएको भन्दा बढी शुल्क लिएको, स्वीकृतिभन्दा फरक प्याकेज बिक्री गरेको र नयाँ प्याकेजबारे सेवाग्राहीलाई समयमै जानकारी नदिएको पाइएपछि जरिवाना गरिएको हो । जरिवानामा पर्ने कम्पनीहरूमा ब्रोडलिङ्क नेटवर्क एन्ड कम्युनिकेसन, क्लासिक टेक, वेब सर्फर नेपाल, फाइबरवर्ल्ड, भायानेट, एरोनेट, डिश मिडिया नेटवर्क, वाइफाइ नेपाल, सिजी कम्युनिकेसन, वर्ल्डलिङ्क, फर्स्ट लिङ्क कम्युनिकेसन, पोखरा इन्टरनेट, टेकमाइन्ड्स नेटवर्क र सुबिसु रहेका छन् ।

प्राधिकरणले स्वीकृति नलिई सञ्चालन गरिएका इन्टरनेट प्याकेज तथा शुल्क तत्काल बन्द गर्न सम्बन्धित कम्पनीलाई निर्देशन दिएको छ। त्यस्ता गतिविधिबाट ग्राहकलाई हानि पुगेको भए मागका आधारमा क्षतिपूर्ति भराउनसमेत भनिएको छ । प्राधिकरणका अनुसार सेवा प्रदायकले नयाँ शुल्क लागू गर्नुअघि प्रस्तावित दर र लागू हुने मितिसहित कम्तीमा तीन महिनाअघि स्वीकृतिका लागि पेस गर्नुपर्छ । स्वीकृतिबिना कुनै पनि सेवा प्याकेज वा शुल्क लागू नगर्न सबै सेवा प्रदायकलाई सचेत गराइएको छ । यसअघि असोज २४ गते प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि गर्न स्वीकृति नदिएको स्पष्ट पारेको थियो ।

स्वीकृत दरभन्दा बढी शुल्क लिने वा गैरकानुनी रूपमा सेवा सञ्चालन गर्ने कम्पनीमाथि कारबाही गर्ने चेतावनीसमेत दिएको थियो । प्राधिकरणले स्वीकृत दरभन्दा बढी शुल्क लिइएको वा उपभोक्ताको हितविपरीत सेवा सञ्चालन गरिएको पाइएमा उजुरी गर्न सेवाग्राहीलाई आग्रह गरेको छ । उपभोक्ताको हित संरक्षण र स्वच्छ प्रतिस्पर्धा कायम गर्न कानुनअनुसार सेवा सञ्चालन गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

१३- प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले आफूमाथि सार्वजनिक भएका आरोपहरू झुटा भएको दाबी गर्दै सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारसँग आग्रह गरेका छन् । सुनारले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफू निरन्तर प्रहार र विभिन्न आरोपको सिकार भइरहेको बताएका छन् । काल्पनिक महिलासँग जोडेर आफ्नो नाममा श्रव्य सामग्री सार्वजनिक गरिएको दाबी गर्दै उनले त्यस्ता सामग्री कृत्रिम बुद्धिमत्तालगायत प्रविधिको प्रयोग गरेर बनाइएको आरोप लगाएका छन् । उनले आफूमाथि उठेका प्रत्येक प्रश्न र आरोपको निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन् । भ्रष्टाचारविरुद्ध प्रश्न उठाएकै कारण आफूलाई निशाना बनाइएको उनको भनाइ छ । सुनारले आफूविरुद्ध हुने छानबिनमा पूर्ण सहयोग गर्न तयार रहेको बताएका छन् । साथै, आफूले सार्वजनिक गरेका विषय र आफूमाथि लागेका आरोपबारे फैलाइएका भ्रममा नपर्न उनले आम नागरिकलाई आग्रह गरेका छन् ।

१४- नेपाली बजारमा आज पनि सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २२ सयले घटेर २ लाख ९२ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९४ हजार ४ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले घटेर ४३५५ मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४४१५ मा कारोबार भएको थियो ।

१५- सिके राउत नेतृत्वको जनमत पार्टीले बालेन्द्र शाह नेतृत्वको सरकारको छमहिने कार्यकालमाथि प्रश्न उठाउँदै सरकारसँग जवाफ मागेको छ । पार्टीले कर वृद्धि, महँगी, बेरोजगारी, सहकारी ठगी, मधेशप्रतिको व्यवहार, दलित प्रतिनिधित्व र भ्रष्टाचारलगायत विषयमा सरकारको आलोचना गरेको छ । जनमत पार्टीले शिक्षा, स्वास्थ्य र बिजुलीमा कर लगाएर जनतामाथि आर्थिक भार बढाएको आरोप लगाएको छ ।

शिक्षामा पाँच प्रतिशत, बिजुलीमा पाँचदेखि १३ प्रतिशतसम्म कर लगाउनुको औचित्यबारे प्रश्न गर्दै स्वास्थ्य सेवामा समेत करको भार किन बढाइएको भन्दै पार्टीले सरकारसँग जवाफ मागेको छ । पार्टीले गरिब नागरिकले सहज स्वास्थ्य उपचार नपाएको, अस्पतालबाट फर्किनुपर्दा सडकमा बच्चा जन्माउनुपर्ने अवस्था रहेको र सामान्य ज्वरोको औषधि पारासिटामोलसमेत नपाउने अवस्था कहिलेसम्म रहने भन्दै प्रश्न गरेको छ । विदेशबाट फर्किएका नागरिकलाई १०० दिनभित्र रोजगारी दिने र १२ लाख रोजगारी सिर्जना गर्ने वाचा कहाँ पुग्यो भन्दै जनमत पार्टीले सरकारलाई प्रश्न गरेको छ । सहकारीमा ठगी भएको रकम बचतकर्ताले कहिले फिर्ता पाउने र ठगीमा संलग्न व्यक्तिहरू कहिले पक्राउ पर्ने भन्ने विषय पनि उठाइएको छ । पार्टीले सुकुम्बासीलाई हटाउने, व्यापारीलाई विस्थापित गर्ने तथा किसानलाई सिँचाइमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने र मलखाद उपलब्ध नगराउने कार्यको आलोचना गरेको छ । यसबाट जनताले भोग्नुपरेको सास्ती र आत्मदाहजस्ता घटनाको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरिएको छ ।

चामल, दाल, तेल र मासुलगायत दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बर हुँदै गएको, डिजेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँबाट २२५ रुपैयाँसम्म पुगेको र महँगो मूल्य तिर्दा पनि ग्यास सिलिन्डर नपाइने अवस्था किन कायम छ भन्दै पार्टीले प्रश्न गरेको छ । मधेशबाट व्यापक मत प्राप्त गरे पनि सरकारले मधेशविरोधी व्यवहार गरेको जनमत पार्टीको आरोप छ। मधेशीमाथि गोली चलाएर हत्या गरिएको, सुरक्षाकर्मी परिचालन गरिएको तथा मधेशलाई पर्याप्त अधिकार र बजेट नदिइएको भन्दै पार्टीले सरकारसँग जवाफ मागेको छ । दलित तथा समावेशी प्रतिनिधित्वको विषय उठाउँदै जनमत पार्टीले सरकारका ६३ नियुक्तिमा दलित समुदायको प्रतिनिधित्व शून्य रहेको दाबी गरेको छ ।

मत माग्ने बेला दलितको मत स्वीकार गर्ने तर नियुक्तिका बेला उनीहरूलाई अवसर नदिने प्रवृत्ति किन कायम छ भन्ने प्रश्न पार्टीले गरेको छ । सीमामा सर्वसाधारणले ल्याएको १०० रुपैयाँको केरासमेत खोस्ने तर कमिसन लिएर तस्करीलाई संरक्षण गर्ने काम किन भइरहेको भन्दै जनमत पार्टीले प्रश्न उठाएको छ । सर्वसाधारणले प्रयोग गर्ने ११५ वटा छोटी भन्सार खारेज गर्ने तर तस्करलाई छुट दिने नीति किन अपनाइएको भन्ने विषय पनि उठाइएको छ । सरकारी कार्यालय, प्रहरी कार्यालय, प्रमुख जिल्ला अधिकारीको कार्यालय र सरकारी वकिलको कार्यालयमा घुस नदिई काम नहुने अवस्था कहिलेसम्म रहने भन्दै पार्टीले प्रश्न गरेको छ । सरकारी नियुक्तिमा नातावाद, कृपावाद र जातिवाद हाबी भएको तथा आफ्ना पार्टीका व्यक्ति र आफन्तलाई प्राथमिकता दिइएको आरोप पनि लगाइएको छ । कार्यालय प्रमुखदेखि राजदूत नियुक्तिसम्म करोडौँ रुपैयाँको चलखेल हुने गरेको जनमत पार्टीको आरोप छ । विद्युतीय सवारीसाधनमा कर छली, मन्त्री तथा सांसदको सम्पत्ति छानबिनमा अवरोध र ठगी तथा भ्रष्टाचारमा संलग्न व्यक्तिलाई संरक्षण दिइएको विषयमा पनि पार्टीले प्रश्न उठाएको छ ।

पार्टीले संघीयताको पक्षमा मत माग्ने तर संघीयता खारेज गर्ने र स्थानीय तहको अधिकार खोस्ने प्रयास किन भइरहेको भन्दै सरकारसँग जवाफ मागेको छ । त्यस्तै, मनपरी धरपकड गर्ने, सञ्चारमाध्यमलाई धम्क्याउने, आलोचकलाई थुन्ने र अशान्ति सिर्जना गर्ने कार्यमार्फत निरंकुश शासन चलाउन खोजिएको आरोप लगाएको छ । सरकारी स्रोतसाधनको प्रयोगबारे प्रश्न उठाउँदै जनमत पार्टीले मन्त्री तथा नेताहरूले साइरन बजाउँदै गाडीको लावालस्कर चलाउने, १२८ जना सल्लाहकार तथा स्वकीय कर्मचारी राखेर राज्यकोषमा भार थप्ने र हेलिकप्टर प्रयोग गरेर सरकारी रकम खर्च गर्ने कार्यको आलोचना गरेको छ ।

१६- इथियोपियाली वायुसेवा निगमको मालवाहक विमानलाई पाइलट इन्डोनेसियाली नागरिक भएको कारण इजरायलमा अवतरण गर्न अनुमति नदिइएपछि बीच बाटोबाटै फर्काइएको छ । इथियोपियाको राजधानी अदिस अबाबाबाट आएको विमानलाई आइतबार राति इजरायलले अवतरण अनुमति नदिएको हो । इजरायल र इन्डोनेसियाबीच कूटनीतिक सम्बन्ध छैन । पछि पाइलट परिवर्तन गरिएपछि विमानलाई इजरायल जान अनुमति दिइएको थियो । विमानमा इन्धन धेरै भएकाले फर्कने क्रममा तौल घटाउन समुद्रमाथि इन्धन खसाल्नुपरेको थियो । विमान उडिसकेपछि मात्र चालकदलका सदस्यहरूको विवरण इजरायललाई पठाइएको बताइएको छ ।

यो घटना दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाईदुबईको विमानमा दुई साताअघि एक पाइलटले सहपाइलटमाथि चक्कु प्रहार गरेको घटनापछि भएको हो । उक्त घटनापछि इजरायलले विदेशी वायुसेवाका पाइलट तथा चालकदलका सदस्यको सुरक्षा जाँच कडा बनाएको छ । नयाँ नियमअनुसार इजरायलसँग कूटनीतिक सम्बन्ध नभएका देशका नागरिकलाई इजरायल आउने उडानमा पाइलट वा चालकदलका सदस्यका रूपमा काम गर्न रोक लगाइएको छ । दोहोरो नागरिकता भएका व्यक्तिमा पनि यो नियम लागू हुने बताइएको छ । इजरायली सुरक्षा निकायहरूले विदेशी वायुसेवाका कर्मचारीको जाँचमा कमजोरी रहेको भन्दै पहिले पनि चेतावनी दिएका थिए । पछिल्लो घटनापछि इजरायलले विदेशी वायुसेवाहरूलाई सुरक्षा नियमको पालना सुनिश्चित गर्न निर्देशन दिएको छ ।

१७- त्रिभुवन विश्वविद्यालयले आफ्नो शैक्षिक, प्रशासनिक तथा प्राज्ञिक संरचनामा सुधार गर्दै ‘डिजिटल विश्वविद्यालय’ र अनुसन्धानमुखी विश्वविद्यालयका रूपमा विकास गर्ने योजना अघि सारेको छ । आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा प्रविधिको प्रयोग, अनुसन्धान प्रवर्द्धन र संस्थागत पुनर्संरचनालाई प्राथमिकता दिइएको बताएको छ । विश्वविद्यालयले विद्यार्थी भर्ना, परीक्षा, नतिजा प्रकाशन, प्रमाणपत्र वितरण तथा प्रशासनिक सेवालाई डिजिटल प्रणालीमा लैजाने भएको छ । यसका लागि एकीकृत मोबाइल अनुप्रयोग, डिजिटल ड्यासबोर्ड र परीक्षा व्यवस्थापन सूचना प्रणाली लागू गर्ने योजना छ । विद्यार्थीका लागि भर्ना, छात्रवृत्ति, परिचयपत्र, गुनासो व्यवस्थापन, मानसिक स्वास्थ्य परामर्श, करिअर विकास र रोजगारी सहजीकरणसम्बन्धी सेवा एउटै प्रणालीबाट उपलब्ध गराउने तयारी गरिएको छ ।

अनुसन्धानलाई प्रोत्साहन गर्न प्रतिस्पर्धात्मक अनुदान, साझा प्रयोगशाला र अनुसन्धान पूर्वाधार विकास गरिनेछ । प्राध्यापक तथा विद्यार्थीलाई नवप्रवर्तन, नयाँ प्रविधि विकास, पेटेन्ट दर्ता र नयाँ उद्यम स्थापनामा प्रोत्साहन गर्ने नीति पनि अघि सारिएको छ । विश्वविद्यालयले श्रम बजारको मागअनुसार पाठ्यक्रम परिमार्जन गर्ने, प्रविधिमैत्री शिक्षण विस्तार गर्ने तथा स्वदेशी र विदेशी विश्वविद्यालयसँग दोहोरो उपाधि र शैक्षिक सहकार्यलाई व्यवस्थित गर्ने योजना बनाएको छ । प्रशासनिक सुधारअन्तर्गत अधिकार र जिम्मेवारीलाई क्याम्पस, विभाग तथा प्रादेशिक निकायसम्म विस्तार गर्ने र विद्यार्थी सङ्ख्या लगातार कम भएका शैक्षिक कार्यक्रमको पुनरावलोकन गर्ने नीति लिइएको छ ।

दुई शैक्षिक सत्रदेखि विद्यार्थी सङ्ख्या १५ भन्दा कम भएका कार्यक्रमबारे अध्ययनसमेत सुरु भएको छ । विश्वविद्यालयले जग्गा, भवन, प्रयोगशाला र अन्य सम्पत्तिको डिजिटल अभिलेख तयार गर्ने तथा उपयोगमा नआएका पूर्वाधारबाट आम्दानी बढाउने योजना बनाएको छ । क्याम्पसलाई वातावरणमैत्री बनाउने, हरियाली विस्तार गर्ने र ऊर्जा दक्षतामा जोड दिने कार्यक्रम पनि समेटिएको छ । यसैगरी, शिक्षक तथा कर्मचारीको पेन्सन व्यवस्थापनसम्बन्धी विषय पनि नीति कार्यक्रममा समावेश छ । पुरानो पेन्सन प्रणाली लागू गर्ने र त्यसका लागि आर्थिक स्रोत जुटाउनेसम्बन्धी सुझाव निर्णयका लागि विश्वविद्यालय सभामा पेस गरिएको छ । तर यो व्यवस्था लागू भइसकेको छैन; थप कानुनी तथा वित्तीय स्वीकृति आवश्यक पर्नेछ ।

१८- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि उठेका आरोपबारे छानबिन गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई निर्देशन दिएको छ । महामन्त्री विपिन कुमार आचार्यका अनुसार रास्वपाले सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा सुनारसँग सम्बन्धित गम्भीर प्रश्नप्रति ध्यानाकर्षण भएको जनाएको छ । महिलाको मर्यादामा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, धम्की तथा शंकास्पद आर्थिक लेनदेनसम्बन्धी आरोप गम्भीर र संवेदनशील रहेको रास्वपाले जनाएको छ। यी विषयमा पार्टीले शून्य सहनशीलताको नीति अपनाउने पनि स्पष्ट पारेको छ । सुनारले एक महिलालाई धम्की दिएको अडियो सार्बजनिक भएपछि उनी विवादमा परेका थिए । छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको छ । रास्वपाले सम्बन्धित सरकारी निकायबाट स्वतन्त्र, निष्पक्ष र तथ्यपरक अनुसन्धान हुने विश्वास व्यक्त गर्दै त्यसमा पार्टीका तर्फबाट पूर्ण सहयोग रहने जनाएको छ । पार्टीले कानुनभन्दा माथि कोही पनि नहुने उल्लेख गर्दै राज्यको अनुसन्धान र आन्तरिक छानबिनबाट प्राप्त निष्कर्षका आधारमा कानुन तथा पार्टी विधानअनुसार थप कदम चाल्ने जनाएको छ । साथै, कानुन उल्लङ्घन वा पदीय आचरणविपरीतका कार्यमा संलग्न जोकोहीलाई राजनीतिक संरक्षण नदिने प्रतिबद्धता पनि रास्वपाले व्यक्त गरेको छ ।

१९- विश्वमा सबैभन्दा धेरै सुन सञ्चय गर्ने देश अमेरिका हो । अमेरिकासँग ८ हजार १३३ टन सुन रहेको छ । सुन सञ्चयका आधारमा जर्मनी दोस्रो, इटाली तेस्रो, फ्रान्स चौथो र चीन पाँचौँ स्थानमा रहेका छन् । चीनले रुसलाई पछि पार्दै विश्वका धेरै सुन सञ्चय गर्ने देशको सूचीमा पाँचौँ स्थान हासिल गरेको हो । वित्तीय विश्लेषण मञ्च ‘द कोबेसी लेटर’का अनुसार चीनसँग २ हजार ४१० टन सुन सञ्चय रहेको छ । फ्रान्ससँग २ हजार ४३७ टन र इटालीसँग २ हजार ४५२ टन सुन छ । चीन फ्रान्सभन्दा २७ टन र इटालीभन्दा ४२ टन मात्रै पछाडि छ । रुससँग २ हजार ३०५ टन सुन रहेको छ । सुन सञ्चयका आधारमा अमेरिका पहिलो स्थानमा छ ।

अमेरिकासँग रहेको सुनको मात्रा दोस्रो स्थानमा रहेको जर्मनीको तुलनामा दोब्बरभन्दा बढी हो । जर्मनीसँग ३ हजार ३५१ टन सुन छ । त्यस्तै, इटालीसँग २ हजार ४५२ टन र फ्रान्ससँग २ हजार ४३७ टन सुन रहेको छ । अन्य देशमध्ये स्विट्जरल्यान्डसँग १ हजार ४० टन, भारतसँग ८८१ टन, जापानसँग ८४६ टन र नेदरल्यान्ड्ससँग ६१३ टन सुन रहेको विवरणमा उल्लेख छ । यस सूचीमा भारत आठौँ स्थानमा छ । चीनको केन्द्रीय बैंकले पछिल्लो समय लगातार सुन खरिद गरिरहेको छ । चीनले लगातार २३ महिनादेखि सुन खरिद गर्दै आएको छ । सन् २०२६ को सेप्टेम्बरमा मात्रै चीनले २३ टनभन्दा बढी सुन खरिद गरेको थियो । पछिल्लो एक वर्षमा कुनै एक महिनामा गरिएको यो सबैभन्दा ठूलो खरिद भएको विवरणमा उल्लेख छ । यसअघि जुलाई र अगस्टमा पनि चीनले प्रत्येक महिना २० टनभन्दा बढी सुन थपेको थियो ।

सेप्टेम्बरसम्म चीनले यस वर्ष कुल १०३ टनभन्दा बढी सुन खरिद गरिसकेको छ । यही गति कायम रहेमा चीनले यस वर्षको अन्त्यसम्म इटाली र फ्रान्सलाई उछिनेर विश्वको तेस्रो ठूलो सुन सञ्चयकर्ता बन्न सक्ने अनुमान गरिएको छ । यसैबीच, अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । ब्लुमबर्गका अनुसार सुनको मूल्य प्रतिऔँस करिब ४ हजार २०७ अमेरिकी डलर पुगेको छ भने चाँदीको मूल्य प्रतिऔँस ६१.१२ डलर पुगेको छ ।

कच्चा तेलको मूल्य घट्दा मुद्रास्फीतिको चिन्ता केही कम हुनु र अमेरिकी केन्द्रीय बैंकले ब्याजदर वृद्धि रोक्न सक्ने अपेक्षा बढ्नु सुनको मूल्य वृद्धिका प्रमुख कारण मानिएका छन् । आर्थिक तथा राजनीतिक अनिश्चितताका बेला सुरक्षित लगानीको विकल्पका रूपमा सुनप्रति लगानीकर्ताको आकर्षण बढ्ने गरेको छ । फेब्रुअरीमा अमेरिका र इरानबीच युद्ध सुरु भएपछि मुद्रास्फीति बढ्ने चिन्ताका कारण सुनको मूल्य करिब २० प्रतिशतसम्म घटेको थियो । अहिले बजारमा सुधार देखिए पनि आगामी दिनमा अमेरिकाको मुद्रास्फीतिसम्बन्धी तथ्याङ्क र त्यहाँको केन्द्रीय बैंकका अभिव्यक्तिले सुनको मूल्यको दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ ।

२०- विश्वका धनी व्यक्ति एलन मस्कले अमेरिकामा नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीका उम्मेदवारलाई सहयोग गर्न जुलाईयता २७ करोड ६० लाख अमेरिकी डलर चन्दा दिएका छन् । मध्यावधि निर्वाचन अघि ट्रम्पको लोकप्रियतामा कमि आएको र निर्वाचनमा पराजयको अनुमान भइरहेका बेला मस्क उनलाई सहयोग गर्न अगाडी आएका हुन् । विभिन्न पोल र रिपोर्टले मध्यावधि निर्वाचनमा ट्रम्पले सिनेटमा बहुमत गुमाउने अनुमान गरेका छन् । मस्कले सन् २०२५ र २०२६ मा रिपब्लिकन पार्टीलाई कुल करिब ३६ करोड ६० लाख अमेरिकी डलर अर्थात् ३५ अर्ब रुपैयाँभन्दा बढी सहयोग गरिसकेका छन् । यो रकम सन् २०२४ को निर्वाचनमा उनले दिएको चन्दाभन्दा बढी हो ।

मस्कको राजनीतिक संस्था ‘अमेरिका पीएसी’ ले रिपब्लिकन उम्मेदवारको पक्षमा प्रचार गरिरहेको छ । संस्थाका करिब तीन हजार प्रचारक घरघरमा पुगेर मतदातालाई मतदान गर्न प्रोत्साहित गरिरहेका छन् । टेक्सासमा रिपब्लिकन उम्मेदवार केन प्याक्सटनको समर्थनमा ठूलो विज्ञापन अभियान सञ्चालन गरिएको छ । मस्कको संस्थाले लैङ्गिक पहिचान र समाजवादसम्बन्धी मुद्दालाई समेत चुनावी प्रचारमा प्राथमिकता दिएको छ । सन् २०२४ को राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको पक्षमा खुलेर प्रचार गरेका मस्क यसपटक भने पर्दापछाडि रहेर आर्थिक सहयोग र रणनीतिमार्फत सक्रिय छन् । पछिल्लो समय ट्रम्पसँग उनको सम्बन्धसमेत सुधारिएको देखिएको छ ।

The post यी हुन् आज दिनभरका प्रमुख २० समाचार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal .

Source: corporatekhabar.com ↗
Share this story

Ask globalread.info

AI news & website helper
What would you like to explore?

I can find stories, explain headlines, or help you use globalread.info.

AI can make mistakes. Check the linked sources. Questions are sent to OpenAI.