बजारमा रौनक, व्यापारमा मन्दी
काठमाडौं । नेपालीहरूको महान् चाड बडादशैँ घर–घरमा भित्रिएसँगै काठमाडौं उपत्यकासहित देशका प्रमुख शहर र बजारमा किनमेल गर्नेहरूको चहलपहल बढेको छ । नयाँ कपडा, जुत्ता–चप्पलदेखि खाद्यान्न तथा घरायसी सामग्री खरिद गर्ने ग्राहकको भिडले बजारमा चाडपर्वको रौनक थपेको छ । तर, बजारमा देखिएको भिडले व्यवसायीको मुहारमा भने अपेक्षित खुसी ल्याउन सकेको छैन । ग्राहकको आवागमन बढे पनि बिक्रीमा उल्लेख्य सुधार नहुँदा व्यापारीहरू निराश बनेका छन् ।
काठमाडौंका न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी, महाबौद्ध, बानेश्वर, चाबहिल, लगनखेललगायत प्रमुख व्यापारिक क्षेत्रमा बिहानैदेखि ग्राहकको चहलपहल देखिन्छ । फुटपाथदेखि खुद्रा पसल र ठूला सपिङ मलसम्म ग्राहकको उपस्थिति बाक्लै छ । दशैँमा नयाँ लुगा लगाउने र मिठो खाने परम्पराले बजारलाई चलायमान बनाए पनि त्यसअनुसार कारोबार बढ्न नसकेको व्यवसायीहरूको गुनासो छ ।
विगतमा दशैँको समयमा ग्राहकको भिडसँगै व्यापारसमेत बढ्ने गरेको थियो । तर, यस वर्ष बजारको दृश्य केही फरक छ । पसलमा सामान हेर्ने र मूल्य बुझ्ने ग्राहक प्रशस्तै देखिए पनि खरिद गर्नेको संख्या अपेक्षाकृत कम छ । विशेषगरी महँगा फेन्सी पसलको तुलनामा सस्तो मूल्यमा सामान पाइने फुटपाथ र साना पसलमा ग्राहकको आकर्षण बढी देखिएको व्यवसायीहरू बताउँछन् ।
व्यापारीहरूका अनुसार आर्थिक मन्दी, महँगी, बाढीपहिरो तथा सडक अवरोधका कारण बजार प्रभावित भएको छ । चिनियाँ नाकासम्मको पहुँच र आपूर्ति व्यवस्थामा परेको असरले कतिपय सामानको मूल्य बढेको छ । हालैका प्राकृतिक विपत्तिले जनजीवन र आर्थिक गतिविधिमा पारेको प्रभावसमेत चाडपर्वको व्यापारमा देखिएको उनीहरूको भनाइ छ । अघिल्लो वर्ष पनि प्राकृतिक विपत्ति र ‘जेन–जी’ आन्दोलनका कारण चाडपर्वको व्यापार प्रभावित भएको थियो ।
भृकुटीमण्डपका कपडा व्यवसायी विवेक तामाङले विगतको तुलनामा यस वर्ष व्यापार आधाभन्दा कम भएको बताउनुभयो । ‘मुलुक आर्थिक मन्दीको चपेटामा थियो । अहिले अविरल वर्षा र बाढीपहिरोले थप संकट सिर्जना गरेको छ । विगतको तुलनामा आधाभन्दा कममात्रै व्यापार भएको छ’, उहाँले भन्नुभयो । उहाँका अनुसार घटस्थापनादेखि फूलपातीसम्मको समयलाई दशैँको मुख्य व्यापारिक अवधि मानिन्छ । तर, यस वर्ष बजारमा विगतको जस्तो किनमेलको उत्साह देखिएको छैन । ‘भिडभाड केही देखिए पनि बिक्री नगण्य छ । अघिल्लो वर्ष पनि यस्तै अवस्था थियो’, उहाँले थप्नुभयो ।
भोटाहिटीकी व्यापारी माया श्रेष्ठले बजारमा चहलपहल क्रमशः बढ्न थाले पनि व्यापार भने विगतको तुलनामा कमजोर रहेको बताउनुभयो । ‘व्यापार अलि कम छ । चहलपहल विस्तारै बढ्न थालेको छ । अब फूलपातीसम्म व्यापार कस्तो हुन्छ, हेर्नुपर्ने अवस्था छ । यसपालि पहिलेभन्दा कम नै छ’, उहाँले भन्नुभयो ।
न्युरोडकी कपडा व्यापारी राधिका श्रेष्ठको अनुभव पनि उस्तै छ । उहाँले आर्थिक मन्दी र बाढीपहिरोलाई व्यापार घट्नुका प्रमुख कारणका रूपमा औँल्याउनुभयो । विगतको तुलनामा कारोबार करिब ६० प्रतिशतले घटेको उहाँको भनाइ छ । बजारमा ग्राहकको उपस्थिति देखिए पनि खरिदको मात्रा कम हुँदा व्यवसायीलाई दैनिक खर्च र लगानी व्यवस्थापन गर्नसमेत कठिन भइरहेको छ ।
छुट र अफरले पनि बढेन कारोबार
चाडबाड सुरु भइसक्दा पनि मुख्य व्यापारिक केन्द्रमा छुट, उपहारजस्ता आकर्षक योजनाले समेत ग्राहक तान्न सकेका छैनन् । उपभोक्ताको क्रयशक्तिमा आएको गिरावट, आर्थिक मन्दी र उच्च मूल्य वृद्धिका कारण अफर सार्वजनिक गरे पनि सोचेअनुसार व्यापार हुन नसकेको व्यापारीहरू बताउँछन् ।
दुई वर्षअघिसम्म बजारमा दशैँ आउनु १५–२० दिनअघिदेखि नै लत्ताकपडा, शृंगार तथा घरायसी सामानका पसलमा खरिदकर्ताको बाक्लो भिड हुन्थ्यो । तर, यसपालि छुटसहितका अफरमा चिटिक्क पारिएका पसल ग्राहकको प्रतीक्षामा सुनसान देखिएका छन् । सामानको मूल्य घटाएर ग्राहक आकर्षित गर्ने प्रयास गरे पनि त्यसले अपेक्षित परिणाम दिन नसकेको व्यापारीहरूको गुनासो छ । बिक्री बढाउने उद्देश्यले नाफा न्यून राखेर सामान बेच्न तयार हुँदा पनि ग्राहकको खर्च गर्ने क्षमता कमजोर देखिएको उनीहरू बताउँछन् ।
नयाँ बानेश्वरका व्यापारी विकास लामाले भन्नुभयो, ‘बाहिर सडकमा मान्छे टेक्ने ठाउँ हुँदैन, भित्र पसलमा सुनसान छ । मान्छे आउँछन्, हेर्छन्, जान्छन् । छुटमा सामान उपलब्ध गराउँदासमेत ग्राहकको आकर्षण बढ्न सकेन ।’ चाबहिलका व्यापारी विष्णु सुवेदीले पनि विगतको तुलनामा कारोबार आधा घटेको बताउनुभयो । उहाँका अनुसार बजारमा मानिसहरू सामान हेर्न र मूल्य बुझ्न आउने गरे पनि खरिद गर्ने ग्राहकको संख्या कम छ ।
न्युरोडका व्यापारी रमेश श्रेष्ठले पनि साना तथा नयाँ व्यवसायीका लागि अहिलेको अवस्था चुनौतीपूर्ण रहेको बताउनुभयो । ‘बाहिरको बजारमा त व्यापार हुन सक्छ, तर भित्री बजारमा अवस्था निकै कठिन छ । हामी यही व्यापारबाट आफ्नो जीविकोपार्जन गर्छौं । विगत वर्षको तुलनामा यसपालि हाम्रो व्यापार निकै खस्किएको छ’, उहाँले भन्नुभयो ।
मूल्य वृद्धिले ग्राहकको बजेटमा दबाब
व्यापार घट्नुमा ग्राहकको क्रयशक्ति कमजोर हुनुका साथै सामानको मूल्य बढ्नु पनि अर्को कारण देखिएको छ । दशैँका लागि आवश्यक सामग्री खरिद गर्न बजार पुगेका ग्राहकले अघिल्लो वर्षको तुलनामा सामान महँगिएको गुनासो गरेका छन् । सीमित बजेटमा चाडपर्वको खर्च व्यवस्थापन गर्नुपर्ने भएकाले कतिपय ग्राहकले आवश्यक सामानमात्र खरिद गर्ने र सस्तो विकल्प रोज्ने गरेका छन् ।
न्युरोडकी व्यापारी रेखा पौडेल श्रेष्ठले भने दशैँका बेला पसलमा ग्राहकको उपस्थिति सामान्य रहेको बताउनुभयो । तर, ग्राहकले सामानको मूल्य बढेको गुनासो गर्ने गरेको उहाँको भनाइ छ । ‘ग्राहकहरूले सामानको मूल्य बढेको गुनासो गरेका छन् । पाँच सयदेखि हजार रुपैयाँसम्म मूल्य बढेको छ’, उहाँले भन्नुभयो । बजारमा सामानको मूल्य बढ्नु र आम्दानीअनुसार खर्च गर्न कठिन हुनुको प्रभाव किनमेलमा देखिएको व्यापारीहरूको बुझाइ छ । ग्राहक पसलसम्म आइपुगे पनि मूल्य तुलना गर्ने, छुट खोज्ने र बजेटभित्रका सामानमात्र खरिद गर्ने प्रवृत्ति बढेको उनीहरू बताउँछन् । दशैँको मुख्य किनमेल अवधि अझै बाँकी रहेकाले केही व्यवसायीले आगामी दिनमा व्यापार बढ्ने अपेक्षा गरेका छन् ।
दशैँ नेपाली बजारका लागि वर्षकै महत्वपूर्ण व्यापारिक अवसरमध्ये एक हो । कपडा, जुत्ता–चप्पल, खाद्यान्न र घरायसी सामग्रीको बिक्री यस अवधिमा उल्लेख्य बढ्ने अपेक्षा गरिन्छ । तर, आर्थिक सुस्तता, महँगी र प्राकृतिक विपत्तिका कारण यस वर्ष बजारले अपेक्षित गति लिन सकेको छैन । बजारमा मानिसहरूको भिड देखिनु र व्यापार बढ्नु फरक विषय बनेको छ । ग्राहकको आवागमनले बजारमा चाडपर्वको रौनक देखाए पनि कमजोर खरिद क्षमताले व्यवसायीको आम्दानीमा दबाब सिर्जना गरेको छ । दशैँको बाँकी अवधिमा कारोबारमा सुधार नआए साना तथा मध्यम व्यवसायी थप आर्थिक समस्यामा पर्न सक्ने चिन्ता देखिएको छ ।
The full article is being collected. Available text is shown for now.