Back

उपत्यकामा आठ हजार प्रहरी परिचालन, राती पनि ‘स्विप अपरेसन’

काठमाडाैं । दशैँ, तिहार तथा छठपर्वलाई लक्षित गरी काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था कडा पारिएको छ । चाडपर्वका समयमा बजारमा हुने भिडभाड, घर छाडेर गाउँ जानेको संख्या, सार्वजनिक यातायातमा चढ्ने यात्रुको चाप र आर्थिक कारोबारमा हुने वृद्धिलाई ध्यानमा राखेर प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो ।

उपत्यकाका तीन जिल्लामा आठ हजार १५ जना प्रहरी परिचालन गर्ने तयारीसहित उपत्यका प्रहरी कार्यालयले सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ । यो योजना फूलपातीदेखि छठसम्म लागू हुने काठमाडौं उपत्यका प्रहरी कार्यालयका डिआइजी गोविन्द थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार चोरी, लुटपाट, पाकेटमारी, ठगी, कालोबजारी, सवारी दुर्घटना तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्नु यसको मुख्य उद्देश्य हो ।

सुरक्षा योजनाअन्तर्गत मुख्य बजार, व्यापारिक केन्द्र, बसपार्क, वित्तीय संस्था, सार्वजनिकस्थल र उपत्यका प्रवेश गर्ने नाकामा निगरानी बढाइएको छ । नियमित गस्तीका साथै सादा पोशाकका प्रहरी, ड्रोन क्यामेरा, तालिमप्राप्त कुकुर र सिसिटिभीको प्रयोगलाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो । रातीको समयमा पनि प्रहरी परिचालन गरी सम्भावित अपराध रोक्ने रणनीति बनाइएको छ ।

भिडभाड हुने क्षेत्रमा विशेष प्राथमिकता

दशैँमा किनमेल गर्ने, घर फर्किने र आफन्तकहाँ जानेको चाप बढ्छ । यही समयमा पाकेटमारी, चोरी, लुटपाट र ठगीका घटना हुन सक्ने भएकाले प्रहरीले भिडभाड हुने क्षेत्रमा विशेष निगरानी गरिरहेको छ । नयाँ बसपार्क, कलंकी, व्यापारिक केन्द्र, सार्वजनिकस्थल तथा आर्थिक कारोबार हुने स्थानमा प्रहरी परिचालन बढाइएको छ । लुटपाट र पाकेटमारीको जोखिम भएका क्षेत्रमा माइकिङ गरेर नागरिकलाई सचेत गराउने योजना पनि छ ।

काठमाडौं उपत्यकाका सात प्रमुख प्रवेश नाका थानकोट, साँगा, फर्पिङ, मुड्खु, टोखा, जर्सिङपौवा र भट्टेडाँडामा चेकजाँच भइरहेको छ । ती क्षेत्रमा सादा पोशाकका सुरक्षाकर्मीसँगै तालिमप्राप्त कुकुर प्रयोग गरिएको प्रहरीले जनाएको छ । विस्फोटक पदार्थ र लागूऔषधको सम्भावित ओसारपसार पत्ता लगाउन कुकुरबाट सुँघाएर जाँच गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । मुख्य बजार क्षेत्रमा ड्रोनबाट समेत निगरानी भइरहेको छ । यसले भिडभाडको अवस्था बुझ्न र शंकास्पद गतिविधि पहिचान गर्न सहयोग पुग्ने प्रहरीको अपेक्षा छ ।

मापसे र लापसे जाँच २४सै घण्टा

चाडपर्वका बेला सवारी आवागमन बढ्ने र चालकले मादक पदार्थ वा लागूपदार्थ सेवन गरेर सवारी चलाउँदा दुर्घटनाको जोखिम हुने भएकाले ट्राफिक प्रहरीले जाँच तीव्र पारेको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले असोज २५ गतेदेखि नयाँ बसपार्क, कलंकी, भक्तपुरको जगाती र ललितपुरको टीकाभैरव क्षेत्रमा मापसे तथा लापसे जाँच गरिरहेको छ ।

यस्तो जाँच २४सै घण्टा सञ्चालन गरिएको प्रहरीले जनाएको छ । सुरक्षा योजना लागू भएपछि लागूपदार्थ सेवन गरेर सवारी चलाउने १२ जना र मादक पदार्थ सेवन गरेर सवारी चलाउने २४६ जना नियन्त्रणमा परेका छन् । मापसे गरेर सवारी चलाउनेमध्ये १८ जना सार्वजनिक यातायातका चालक रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले रातीको समयमा हुने सम्भावित अपराध नियन्त्रण गर्न विशेष स्विप अपरेसन सञ्चालन गरेको छ । शंकास्पद अवस्थामा हिँड्डुल गरिरहेका ३४१ जनालाई नियन्त्रणमा लिएर उनीहरूको विवरण जाँच गरिएको छ । चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधि हुन सक्ने स्थानमा रातीको गस्ती बढाइएको छ । सुरक्षा योजनाअन्तर्गत आवश्यकताअनुसार तत्काल प्रहरी टोली परिचालन गर्ने व्यवस्था पनि मिलाइएको छ ।

१४ सेक्टरमा जिम्मेवारी बाँडफाँट

काठमाडौं उपत्यकाका १४ वटा सेक्टरलाई लक्षित गरी सुरक्षा योजना लागू गरिएको छ । सम्बन्धित प्रहरी वृत्तका प्रमुखलाई आफ्नो क्षेत्रको सुरक्षाको जिम्मेवारी दिइएको छ । जिल्ला प्रहरी परिसरले समग्र अवस्थाको निगरानी र अनुगमन गर्नेछ । काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार काठमाडौं जिल्लामा मात्रै चाडपर्वलक्षित सुरक्षाका लागि तीन हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ ।

यसमा १०० जना सादा पोशाकका प्रहरी छन् । सादा पोशाकका प्रहरीले भिडभाड हुने क्षेत्र र सार्वजनिकस्थलमा निगरानी गर्नेछन् । उनीहरूले शंकास्पद गतिविधि पहिचान गरी आवश्यक कारबाहीका लागि सहयोग गर्नेछन् । सामुदायिक सेवा केन्द्र, ड्रोन, सामाजिक सञ्जाल र तालिमप्राप्त कुकुरको प्रयोगबाट पनि सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउने प्रहरीको योजना छ ।

The full article is being collected. Available text is shown for now.

Back
Share this story

Get the daily newsletter →

Ask globalread.info

AI news & website helper
What would you like to explore?

I can find stories, explain headlines, or help you use globalread.info.

AI can make mistakes. Check the linked sources. Questions are sent to OpenAI.