यमनको राष्ट्रपति भवन परिसरमा हुथीको मिसाइल आक्रमण, सुरक्षागार्डसहित ५ जनाको मृत्यु
काठमाडौं । यमनको अन्तरिम राजधानी अदनस्थित राष्ट्रपति भवन परिसरमा हुथी विद्रोहीले मिसाइल आक्रमण गर्दा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। मृत्यु हुनेमा प्रधानमन्त्रीका दुई सुरक्षागार्डसमेत रहेको यमनका स्वास्थ्य मन्त्रीलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ।
रोयटर्सका अनुसार आक्रमणका बेला प्रधानमन्त्री र केही मन्त्री राष्ट्रपति भवन परिसरमा उपस्थित थिए। तर सरकारका उच्च अधिकारीहरू भने सकुशल रहेको बताइएको छ।
प्रत्यक्षदर्शीले राष्ट्रपति भवन आसपास कम्तीमा पाँचवटा शक्तिशाली विस्फोटको आवाज सुनेका थिए। आक्रमणपछि परिसरमाथि धुवाँको ठूलो मुस्लो देखिएको थियो।
हुथी विद्रोहीले आक्रमणको जिम्मेवारी लिँदै अदनस्थित साउदी अरबको सैन्य अभियान मुख्यालयलाई निशाना बनाएको दाबी गरेका छन्। हुथी सैन्य प्रवक्ता याह्या सरीले साउदी सेनाको उपस्थिति र सैन्य गतिविधि भएका स्थानलाई लक्षित गर्ने नीति अनुरूप आक्रमण गरिएको बताएका छन्।
साउदी अरबका विमानस्थल र तेल केन्द्र पनि निशानामा
हुथी विद्रोहीले यमनको सरकारी सुरक्षा बललाई साउदी अरबले समर्थन गरेको विरोधमा साउदी अरबका विभिन्न विमानस्थल, बन्दरगाह र तेल केन्द्रलाई लक्षित गरी ड्रोन तथा मिसाइल आक्रमण गर्दै आएको छ।
साउदी नेतृत्वको सैन्य गठबन्धनका प्रवक्ता तुर्की अल–मलिकीले यसै महिना रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा हुथीले २० पटक आक्रमण गरेको दाबी गरेका छन्। उनका अनुसार ती आक्रमणमा १७ जनाको मृत्यु र ३३३ जना घाइते भएका छन्।
त्यस्तै, यमनको सीमावर्ती क्षेत्रमा रहेको दक्षिणपश्चिमी साउदी अरबको आभा विमानस्थलमा भएका आक्रमणमा तीन जनाको मृत्यु र २८ जना घाइते भएको गठबन्धनले जनाएको छ।
प्रवक्ता अल–मलिकीले हुथी विद्रोहीले क्षेत्रका केही पक्षको सहयोगमा आधुनिक सैन्य प्रविधि प्राप्त गरिरहेको आरोप लगाएका छन्। उनका अनुसार विद्रोहीसँग ब्यालिस्टिक मिसाइल, ड्रोन र विस्फोटक पदार्थ जडित तीव्र गतिका डुंगासमेत छन्।
उनले यमनका पहाडी क्षेत्रमा रहेका हतियार भण्डारणस्थल तथा मिसाइल प्रक्षेपण केन्द्र गरी १२७ वटा स्थान नष्ट गरिएको दाबी गरेका छन्। साथै, नागरिक र नागरिक संरचनालाई लक्षित गर्ने आक्रमण रोक्न हुथी विद्रोहीसँग आग्रह गरेका छन्।
साउदी हवाई क्षेत्र असुरक्षित रहेको हुथीको चेतावनी
साउदी गठबन्धनको पत्रकार सम्मेलनलगत्तै हुथी सैन्य प्रवक्ताले विमान सेवा प्रदायकलाई साउदी अरबका विमानस्थल र हवाई क्षेत्र असुरक्षित रहेको भन्दै पुनः चेतावनी दिएका छन्। उक्त चेतावनीमा मक्का र मदिनाको हवाई क्षेत्र भने समावेश नगरिएको विवरणमा उल्लेख छ।
आक्रमणको जोखिम बढेपछि खाडी क्षेत्रको हवाई सेवा प्रभावित भएको छ। इत्तेहाद एयरवेज र कतार एयरवेजले साउदी अरबका विभिन्न सहरमा हुने उडान रद्द तथा स्थगित गरेका छन्।
इत्तेहाद एयरवेजले अबुधाबीबाट रियाद, दमाम र जेद्दाह जाने तथा त्यहाँबाट फर्कने केही उडान रद्द गरेको जनाएको छ। कम्पनीको वेबसाइटअनुसार अबुधाबी–रियाद रुटका सबै उडान अक्टोबर १९ अर्थात् आगामी कात्तिक २ गतेसम्म रद्द गरिएका छन्।
The full article is being collected. Available text is shown for now.