झापामा एक क्विन्टल सडेगलेको माछा र मासु बरामद गरी नष्ट
झापा,असोज २९-
झापाको बिर्तामोडस्थित बिर्ता बजार र मुखिया बजारका १९ वटा माछा तथा मासु पसलमा अनुगमन गर्दा उपभोगका लागि अनुपयुक्त करीब एक क्विन्टल माछा र मासु बरामद गरि नष्ट गरिएको छ ।
बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलासहितको अनुमगन टोलीले बिहीवार अनुमगन गर्दा उक्त परिमाणमा बिग्रीएको अवस्थामा माछा र मासु फेला पारेको हो । टोलीले ८३ किलो मासु र २६ किलो माछा नियन्त्रणमा लिएर खाल्डोमा गाडेर नष्ट गरेको उपप्रमुख संग्रौलाले जानकारी दिए ।
केही पसलमा प्यान नम्बरसमेत नभेटिएको र पटक–पटक सुधार गर्न आग्रह गर्दा पनि व्यवसायीले अटेर गरेको संग्रौलाले बताए । उनका अनुसार उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने गतिविधि रोक्न बजार अनुगमन गरिएको हो । सुधारका लागि पटक–पटक आग्रह गर्दा पनि अटेर गर्ने व्यवसायीमाथि कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।
अनुगमन टोलीमा उपप्रमुख संग्रौलासहित पशु सेवा कार्यालयका प्रमुख डा। शीतल भट्टराई, उपभोक्ता जागरण अभियान बिर्तामोडका अध्यक्ष राजकुमार ओली, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रतिनिधि र जिल्ला प्रशासन कार्यालय झापाका कर्मचारी सहभागी थिए ।
पशु सेवा कार्यालयका प्रमुख भट्टराईले विगतका वर्षको तुलनामा यसपटक पसलको सरसफाइमा केही सुधार देखिए पनि उपभोगका लागि अनुपयुक्त खाद्यवस्तु बिक्री गर्ने समस्या कायमै रहेको बताए ।
‘सरसफाइमा पहिलेको तुलनामा सुधार देखिए पनि केही पसलमा कुहिएका माछा र सडेको मासु बिक्रीका लागि राखिएको पाइयो,’ उनले भने, ‘उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले त्यस्ता व्यवसायीमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ ।’
अनुगमनका क्रममा खाद्यवस्तुको गुणस्तर, पसलको सरसफाइ, माछा तथा मासुको भण्डारण र व्यवसाय सञ्चालनका लागि आवश्यक कागजातको अवस्थासमेत जाँच गरिएको थियो ।
माछा तथा मासु छिटो बिग्रन सक्ने खाद्यवस्तु भएकाले उचित तापक्रममा भण्डारण र स्वच्छता कायम नगर्दा उपभोक्ताको स्वास्थ्यमा असर पर्न सक्छ । त्यसैले व्यवसायीलाई खाद्यवस्तुको गुणस्तर र सरसफाइसम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिने र मापदण्डविपरीत कारोबार गर्नेमाथि प्रचलित कानुनअनुसार कारबाही गर्ने जनाएको छ ।
The full article is being collected. Available text is shown for now.