रैथाने बालीको पुनरागमन
दसैँ नजिकिँदै गर्दा जुम्लाकी राजकन्या रोकाया खेती भित्र्याउने चटारोमा छिन्। उनको परिवारले खेतबारीमा मकै, कोदो, मार्सी, गहुँ, जौ, फापर, स्याउ, सिमी, चिनो र कागुनो फलाउँछ। वर्षभरि खाएर बचेको अन्न बेच्छन्। यसपालि बजार पाउने थाहा पाएपछि चिनो खेती अलि बढाएका छन्। “ओल्लोघर, पल्लोघरकाले पनि पोहोरपरारको भन्दा बढी नै लगाएका छन्,” घरमाथिको बारीमा पाकेको चिनो टिप्दै गरेको भेटिएकी राजकन्या भन्छिन्। उनले भनेझैँ जुम्लाको चन्दननाथ नगरपालिका-८, स्यालबाडामा यो वर्ष चिनोको व्यावसायिक खेती सुरु भएको छ।
प्रायः सुक्खा र खडेरी सहन सक्ने चिनो पश्चिम नेपालको मध्य तथा उच्च पहाडी भेगको रैथाने बालीअन्तर्गत पर्छ। समुद्री सतहदेखि करिब दुई हजार ५०० मिटरको उचाइमा पर्ने स्यालबाडाको हावापानी चिनोका लागि अनुकूल मानिन्छ। रेरास परियोजनाअन्तर्गत प्रकाशित रैथाने बालीका परिकारबारेको पुस्तिका मा उल्लेख भएअनुसार चिनोमा कार्बोहाइड्रेट, रेसा, प्रोटिन, क्याल्सियम र फलामजस्ता पोषक तत्त्व पाइन्छन्। काठमाडौँलगायतका प्रमुख सहरबजारमा यसको माग बढ्दो छ। तर, स्यालबाडाको चिनो बजारसँग सिधै नजोडिएकाले व्यावसायिक खेतीको चलन उति धेरै थिएन।
विभिन्न किसिमका रैथाने बाली लगाइएको क्षेत्र।
यस वर्षदेखि भने चिनोलगायतका रैथाने बालीलाई आयआर्जनकै स्रोतका रूपमा खेती गर्न थालिएको छ। नेपाल सरकार, नर्वे सरकार, फिनल्यान्ड सरकार र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)को संयुक्त पहलमा सञ्चालित कृषि खाद्य प्रणालीका लागि नवीकरणीय ऊर्जा (रेरास) परियोजनाको सहयोगमा राजकन्यासहित स्यालबाडाका कृषकले व्यावसायिक खेती थालेका छन्। उनीहरूले तीन हेक्टर जमिनमा सामूहिक चिनो खेती लगाएका छन्। यसलाई रैथाने बाली पकेट क्षेत्रका रूपमा विस्तार गरिएको छ। अर्को वर्ष यो जमिनमा फरक बाली लगाउने योजना छ।
राजकन्याको चार जनाको परिवारको जीविका खेतीउब्जनीमा निर्भर छ। उनी दिनभर मेलापातमा खटिन्छिन्। उनका श्रीमान् सिंहबहादुर हिउँदमा घर बनाउने मिस्त्रीको काम गर्छन्। खेतीको सिजनमा परिवारलाई सघाउँछन्। उनीसँग उर्वर जमिन छ, जे लगाए पनि मजाले फल्ने। हरेक साल झन्डै छ सय किलो त मार्सी धान नै फलाउँछन्। आफूलाई खान राख्छन्। मार्सीसँगै जुम्ली सिमी, कोदोको पीठो र सिजनअनुसारका खानेकुरा काठमाडौँ र धनगढीमा बसेर पढ्ने छोराहरूलाई पठाउँछन्।
जुम्लाको रैथाने बालीबाट तयार पारिएको पीठो।
“हिमाली हावापानीमा उब्जाएको अन्नबाली स्वास्थ्यवर्द्धक हुने भयो, दिनहुँ नभए पनि जति पुग्छ छोराहरूले खान पाऊन्, निरोगी होऊन् भनेर पठाउँछौँ,” राजकन्या भन्छिन्। बचेको मार्सी बेचेर नुनतेल किन्छन् किनभने त्यसको बजार स्थापित भइसकेको छ। स्थानीय सहकारीहरूले कृषकको घरबाटै प्रतिकिलो १५० रुपैयाँका दरले खरिद गरेर लग्छन्।
चिनो भने उनीहरूले खानका लागि मात्रै खेती गर्थे। रेरासबाट उन्नत बीउबिजन, गोठे मलका लागि गोठ सुधार, तालिम र नियमित प्राविधिक सहयोग पाएपछि उनीहरूले बेच्ने गरी खेती लगाएका हुन्। परियोजनाबाट ‘रैथाने बाली, फलफूल तथा तरकारी उत्पादन समूह’का २७ कृषक महिलाले चिनोको उत्पादन बढाएर आयआर्जन गर्ने र बजारमा जोडिने सहयोग पाएका छन्।
बदलिँदो खाद्य उपभोगसँगै बिहानबेलुकीको खानामा उपेक्षित हुँदै आएका रैथाने बालीलाई पुनः महत्त्व दिन थालिएको छ।
साउन २०८० देखि सुरु भएर असार २०८४ सम्म सञ्चालन हुने रेरास परियोजना जुम्लासहित चार प्रदेशका १० जिल्लाका २८ स्थानीय तहमा कार्यान्वयन भइरहेको छ। यूएनडीपीको परियोजना विवरणअनुसार सहयोग पाएका घरपरिवारमध्ये ३६ प्रतिशतले तरकारी र रैथाने बालीको खेती क्षेत्र बढाएका छन्। खासगरी जुम्ला र बाजुराका कृषकले चिनोसहित कोदो, कागुनो, फापर, जुनेलो, सिमी र मार्सीजस्ता बालीको खेती विस्तार गरेका छन्।
बदलिँदो खाद्य उपभोगसँगै बिहानबेलुकीको खानामा उपेक्षित हुँदै आएका रैथाने बालीलाई पुनः महत्त्व दिन थालिएको छ। परियोजनाअन्तर्गत रैथाने बालीका परिकारबारेको पुस्तिका मा पौष्टिक आहारका विभिन्न विधि सङ्कलन गरेर घरपरिवारको खानपानमा विविधता ल्याउने प्रयास गरिएको छ।
जुम्लामा अधिकांश पुरुष मौसमी कामदारका रूपमा भारत तथा अन्य सहरबजारमा जाने भएकाले यहाँको कृषिकर्म महिलाले धानेका छन्। रैथाने बालीको उत्पादन र उपभोगलाई पुनरुत्थान गर्न उनीहरूको विशेष योगदान छ। यससँगै जुम्ली महिलाको आम्दानी, श्रम र नेतृत्वमा परिवर्तन आएको छ।
तातोपानीस्थित बीउ बैंक।
स्यालबाडामा महिलाहरू अहिले चिनोको सामूहिक खेती र बजार विस्तारमा अग्रसर छन्। समूहकी अध्यक्ष माया राना भन्छिन्, “दुःख गरेअनुसार बजार पाउने भएपछि हामीलाई पनि जाँगर चलेको छ।” उनी थप्छिन्, “पहिले व्यापारीहरू घरैमा आउँथे, तर थोरै मूल्यमा उधारोमा लैजान्थे, कतिले कतिपछि मात्रै पैसा दिन्थे, कसैले दिँदैनथे।”
अहिले यहाँका कृषक उत्पादन समूह र सहकारीमार्फत बजारमा जोडिएका छन्। “अब उचित मूल्य पाउने आशा छ, यसले हामीलाई व्यावसायिक चिनो खेती गर्न प्रोत्साहन गरेको छ,” माया भन्छिन्। यसले गर्दा दर्ता गरेर निष्क्रिय छोडेको कृषक समूह पनि सक्रिय भएको छ। उनीहरूले हरेक महिना प्रतिव्यक्ति ५० रुपैयाँका दरले समूहमा बचत गर्छन्। आपत्मा परेका सदस्यले समूहबाट सहुलियत ब्याजमा ऋण लिन सक्छन्।
स्थानीय सहकारीहरूलाई रैथाने उत्पादनको बजारीकरण गर्न परियोजनाले आर्थिक तथा प्राविधिक प्रोत्साहन गरेको छ।
आधुनिक कृषि औजार र प्रविधि अपनाइएकाले कृषकलाई खेतीमा झनै सहज भएको माया बताउँछिन्। परम्परागत रूपमा चिनो काट्ने र चुट्ने काम झिँजोलाग्दो र कडा श्रम लाग्ने हुन्छ। बिजुलीबाट चल्ने बहुबाली थ्रेसर (बाली चुट्ने मेसिन) को प्रयोगले यो प्रक्रियालाई छिटो र सजिलो बनाएको छ। उत्पादन लागत पनि घटेको उनको अनुभव छ। “बाली चुट्ने पुरानो तरिकाले हाम्रो धेरै समय र बल लान्थ्यो,” माया भन्छिन्, “बिजुलीबाट चल्ने मेसिनले धेरै नै सजिलो भएको छ।” उनी पनि रैथाने बाली लगाएर आफूलाई राख्छिन् र काठमाडौँमा जागिर गर्ने श्रीमान् तथा त्यहीँ बसेर पढ्ने सन्तानलाई पठाउँछिन्।
थोरै उत्पादनलाई पनि बजार
स्थानीय सहकारीहरूलाई रैथाने उत्पादनको बजारीकरण गर्न परियोजनाले आर्थिक तथा प्राविधिक प्रोत्साहन गरेको छ। बजारीकरणको अवसरले कृषकले पहिलेको तुलनामा राम्रो मूल्य पाउन थालेका छन्। ५५ वर्षीया बाटुली सार्की जुम्लाको तातोपानी गाउँपालिकाको धौलापानीस्थित गैह्राभवानी कृषक समूहकी सदस्य छिन्। उनी रैथाने बाली उत्पादन गरेर स्थानीय धौलीगाड कृषि सहकारीलाई बेच्छिन्।
उनले आर्थिक वर्ष २०८२/८३ मा सहकारीलाई ७० किलो चिनो र ७५ किलो कागुनो बेचिन्। चिनोबाट ६ हजार ३०० र कागुनोबाट ६ हजार ७५० रुपैयाँ कमाइन्। दुवै बाली प्रतिकिलो ९० रुपैयाँका दरले सहकारीमा बेचेकी थिइन्। अघिल्लो वर्ष उनले प्रतिकिलो ८० रुपैयाँमा बेच्नुपरेको थियो। त्यस साल चिनोबाट तीन हजार २०० र कागुनोबाट चार हजार रुपैयाँ कमाएकी थिइन्।
बाटुली सार्की।
अहिले बाटुली चिनो टिपेर तयार गर्दै छिन्। यस वर्ष चिनो र कागुनोको उत्पादन बढ्ने अपेक्षा गरेकी छन्। धौलीगाड सहकारीकी अध्यक्ष कविता जैसीका अनुसार यस वर्ष दुवै बालीको मूल्य बढेर प्रतिकिलो १०० रुपैयाँ पुगेको छ। उनी भन्छिन्, “यस वर्ष बाटुलीलगायत कृषकले अझ बढी कमाउने सम्भावना छ।”
बाटुलीका श्रीमान्, छोराबुहारी र नातिनातिनासहित छ जनाको परिवार छ। श्रीमान् र छोरा घर बनाउने मिस्त्रीको काम गर्छन्। परिवारले अरू अन्नबाली, फलफूल र तरकारी पनि लगाउँछ। खेतीमा कम्पोस्ट मलको प्रयोग बढाउन गँड्यौला मल उत्पादन थालेका छन्।
मार्सीमा प्रयोग हुने गरेको ब्युटाक्लोरजस्ता झारनाशकको प्रयोग पनि बिस्तारै कम हुँदै गएको सहकारीसँग आबद्ध कृषकहरूको अनुभव छ।
रैथाने बाली संरक्षणमा महिलाले नेतृत्व गरेको धौलीगाड सहकारीको विशेष भूमिका छ। हाँकु सामुदायिक बीउ बैंकबाट विकसित यो सहकारीले रैथाने उत्पादन सङ्कलन र बजारीकरण गरिरहेको छ। यसले थोरै मात्रामा उत्पादित कृषि उपज बिक्री गर्न कृषकलाई सहज भएको सहकारीका व्यवस्थापक गोकर्ण जैसी बताउँछन्। “पहिले चार–पाँच किलो मात्र बेच्नेका लागि किनिदिने हुँदैनथिए, अहिले हाम्रै सहकारीले दुई किलो भए पनि किन्छ,” उनी भन्छन्।
भौगोलिक विविधतायुक्त जुम्ला कुनै बेला रैथाने उत्पादनमा नै निर्भर थियो। सडक यातायातको पहुँच विस्तार भएर बाहिरबाट खाद्यान्न आयात गर्न थालेपछि स्थानीय उत्पादनमा गिरावट आएको थियो। दुःख गरेअनुसारको मूल्य नपाउने स्थितिले पनि कृषकलाई खेतीमा निरुत्साहित गरेको थियो। यो अवस्था बिस्तारै सुधारोन्मुख छ। सहकारीहरूले कृषकलाई बजारसँग जोडेर उचित मूल्य दिलाउने पहल गरिरहेका छन्।
बालीनालीमा देखापर्ने नयाँ रोगकिराको पहिचान र व्यवस्थापन गर्न कृषकलाई जैविक कीटनाशकको प्रयोग सिकाइरहेका छन्। मार्सीमा प्रयोग हुने गरेको ब्युटाक्लोरजस्ता झारनाशकको प्रयोग पनि बिस्तारै कम हुँदै गएको सहकारीसँग आबद्ध कृषकहरूको अनुभव छ।
तातोपानीस्थित बीउ बैंक।
बीउको व्यापार फैलिँदै
धौलीगाड सहकारीले कृषकलाई पैँचो बीउ उपलब्ध गराउँछ। बाली उब्जाएपछि कृषकले बीउ फिर्ता गर्छन् र बाँकी अनाज सहकारीले नै खरिद गर्छ। यसबाट गैरसदस्य कृषक पनि लाभान्वित छन्। “हामीसँग सहकारीमा अहिले १३० महिला र १९ पुरुष सदस्य हुनुहुन्छ, सहकारीले ‘एक सदस्य एक बाली’को लक्ष्य लिएको छ,” व्यवस्थापक जैसी बताउँछन्।
उनका अनुसार सुधारिएको बीउबिजन र खेती अभ्यासले पछिल्लो तीन वर्षमा कागुनो, चिनो, फापर र मार्सीको खेती क्षेत्र, उत्पादन र उत्पादकत्व बढाउन सघाएको छ। सहकारीले कृषकलाई उत्पादनसँगै बीउ संरक्षण र बिक्रीमा जोड दिएको छ।
आर्थिक वर्ष २०८२/८३ मा धौलीगाड सहकारीले १४ टन बीउ मात्रै बिक्री गर्यो। जुम्लाबाहेक कालीकोट, अछाम र चितवनसम्म बीउ बिक्री भएको जैसी बताउँछन्। यसले रैथाने बालीको बजार स्थानीय उपभोगमा मात्रै सीमित नरहेको देखाउँछ।
कागुनो खेती।
यसलाई संस्थागत गर्न रेरासले कृषकबाट खरिद गरेको अन्न प्रशोधन, भण्डारण, प्याकेजिङ र बजारीकरणका लागि आवश्यक स्रोतसाधनको सहयोग गरेको छ। धौलीगाड सहकारीको कार्यालय, गोदामघर र प्रशोधन केन्द्रको मासिक भाडाबापत ६ हजार ३०० रुपैयाँ रेरासले नै तिर्दै आएको छ। बिजुलीबाट चल्ने कुटानीपिसानी मिल, कम्प्युटर, प्रिन्टर, बीउको ओसिलोपना नाप्ने यन्त्र, प्याकेजिङ मेसिन र विद्युतीय तौल उपकरण सहकारीलाई उपलब्ध गराइएको छ। स्थानीय तहले बीउ भण्डारण गर्ने भाँडाहरू उपलब्ध गराएको छ।
सहकारीका सदस्यले उत्पादन गरेको लाल मार्सी, लट्टे र जौ चावलीको बीउ कृषि विकास विभागमा दर्ता गरिएको जैसी बताउँछन्। बीउ उपलब्ध गराउने, किसानले उत्पादन गरेको अनाज किन्ने र त्यसलाई प्रशोधन तथा बिक्री गर्ने कामले सहकारीको भूमिका विस्तार भएको छ।
किसानको उत्पादनबाट नयाँ बजारसम्म
रैथाने बालीको बजार परम्परागत अन्नका रूपमा बिक्री हुने ठाउँमा मात्रै सीमित छैन। जुम्ला सदरमुकाम खलङ्गामा फापर, कोदो र गहुँजस्ता स्थानीय उत्पादन प्रयोग गरेर केक, पाउरोटी र कुकीज पनि बनाउन थालिएको छ। ब्ल्याक स्टोन बेकरीका अविनाश बुडथापाले रैथाने अन्नलाई आधुनिक बेकरीका परिकारमा प्रयोग गरेर नयाँ बजार खोजेका छन्।
चन्दननाथ बहुउद्देश्यीय सहकारीले पनि रैथाने उत्पादनको बिक्रीका लागि अर्गानिक मार्ट सञ्चालन गरेको छ। उसले रैथाने बालीको विद्युतीय मूल्यसूची पसलको बाहिरपट्टि सबैले देख्ने गरी राखेको छ। यहाँ मार्सी, जुम्ली सिमी, कोदो, चिनो, कागुनो, जिम्बू र फापरको पीठोलगायतका रैथाने उत्पादन बिक्रीका लागि राखिएका छन्।
तातोपानीस्थित बीउ बैंकमा राखिएको रैथाने उत्पादनको बीउ।
स्थानीय तहले पनि रैथाने बाली संरक्षण र प्रवर्द्धनमा काम गर्दै आएका छन्। चन्दननाथ नगरपालिकाका कृषि अधिकृत शरद पोखरेल भन्छन्, “नगरपालिकाले कृषकको आवश्यकताअनुसार रैथाने बालीको उन्नत बीउ र सचेतनामूलक सामग्रीहरू निःशुल्क उपलब्ध गराउँछ।”
तातोपानी गाउँपालिकाका कृषि अधिकृत मोहनसिंह महतका अनुसार कुनै समय जीविकोपार्जनका लागि मात्रै हुने गरेको खेतीपाती अहिले व्यावसायिकतातर्फ लम्किरहेको छ। रैथाने परिकारलाई स्थानीयले दैनिक खानामा समावेश गर्ने चलन बढ्दो छ। “रैथाने परिकार पोषिलो हुन्छ, लाभदायक छ भन्ने सचेतना बढेको छ, जुम्लीले आफ्नै उत्पादन खाएपछि बाहिरको अन्न किन्ने बोझ पनि कम हुने भयो भन्ने थाहा पाउन थालेका छन्,” उनी भन्छन्, “करिब ६० प्रतिशतले रैथाने खान्की आफ्नो थालमा पस्किन थालेका छन्।”
स्यालबाडामा राजकन्या रोकायासहितका कृषकले यसपालि बजार पाउने आशामा चिनोको खेती बढाएका छन्। समूहका २७ कृषक महिला तीन हेक्टर जमिनमा सामूहिक चिनो खेती गर्दै छन्। तातोपानीमा धौलीगाड सहकारीले भने गत आर्थिक वर्षमै १४ टन बीउ बिक्री गरेर जुम्लाबाहिर कालीकोट, अछाम र चितवनसम्म बजार विस्तार गरेको छ। सहकारीकी अध्यक्ष कविता जैसीका अनुसार यस वर्ष चिनो र कागुनोको खरिद मूल्य पनि प्रतिकिलो १०० रुपैयाँ पुगेको छ।
The full article is being collected. Available text is shown for now.