Back

दशैँको उल्लास, सद्भाव र समृद्धिको कामना

Story illustration

नेपालीहरूको महान् चाड बडादशैँ हाम्रो घर–आँगनमा भित्रिएको छ । दशैँको आगमनसँगै गाउँघर, शहरबजार र नेपालीका मन–मनमा उत्साह, उमंग र उल्लास छाएको छ । टाढा–टाढा रहेका आफन्तजनको घर फर्कने क्रम चलिरहेको छ । वर्षभरि काम, अध्ययन र विभिन्न बाध्यताले अलग्गिएका परिवारका सदस्यहरू एकै ठाउँमा भेला हुन थालेका छन् ।

घर–आँगनको सरसफाइ, रङ्गरोगन, किनमेल, मीठा परिकारको तयारी र शक्तिपीठहरूमा बढ्दो चहलपहलले नेपाली समाजमा दशैँको रौनक थपेको छ । दशैँ एउटा पर्व मात्र होइन, यो पारिवारिक मिलन, सामाजिक सद्भाव, सांस्कृतिक निरन्तरता र आशाको उत्सव पनि हो ।

विशेष गरी हिन्दु धर्मावलम्बीहरूले श्रद्धा र भक्तिपूर्वक मनाउने बडादशैँले असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र अधर्ममाथि धर्मको विजयको सन्देश दिन्छ । देवी दुर्गाको आराधना गरिने यस पर्वले मानिसलाई अन्याय, अत्याचार, अहंकार र नकारात्मक प्रवृत्तिविरुद्ध उभिन प्रेरित गर्छ ।

घटस्थापनादेखि शुरु हुने धार्मिक अनुष्ठान, फूलपातीको भव्यता, महाअष्टमी र महानवमीको पूजा तथा विजयादशमीको दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले हाम्रो मौलिक संस्कृति र पुस्तान्तरण हुँदै आएको सामाजिक सम्बन्धलाई जीवन्त बनाउँछ । दशैँको सबैभन्दा सुन्दर पक्ष पारिवारिक पुनर्मिलन र आत्मीयताको अनुभूति हो । रोजगारीका लागि विदेशिएका नेपाली हुन् वा अध्ययन तथा व्यवसायका सिलसिलामा घरबाट टाढा रहेका नागरिक, दशैँले सबैलाई जन्मभूमि र परिवारको सम्झना गराउँछ ।

घरका ज्येष्ठ सदस्यबाट टीका र आशीर्वाद ग्रहण गर्नु, सानालाई माया र सद्भाव बाँड्नु तथा आफन्त र इष्टमित्रसँग सुख–दुःख साटासाट गर्नु यस पर्वका विशेषता हुन् । बालबालिकाको उत्साह, गाउँघरका भेटघाट र सामूहिक खुशीले दशैँलाई अझ उल्लासमय बनाउँछ । तर चाडपर्वको खुशी सबैका लागि समान छैन । आर्थिक अभाव, बेरोजगारी, महँगी, प्राकृतिक विपत्ति र पारिवारिक वियोगका कारण कतिपय नेपालीले दशैँलाई सहज रूपमा मनाउन सकिरहेका छैनन् । त्यसैले हाम्रो खुशी अरूको पीडा नबिर्सने संवेदनशीलतासँग जोडिनुपर्छ ।

अनावश्यक खर्च, देखासिकी, जुवातास, जथाभावी मादक पदार्थ सेवन र पशुपक्षीप्रतिको निर्दयताबाट टाढा रहँदै सभ्य, मर्यादित र सुरक्षित ढंगले पर्व मनाउनु आवश्यक छ । विपन्न, असहाय, ज्येष्ठ नागरिक तथा दुःखमा परेका व्यक्तिहरूसँग खुशी बाँड्न सके मात्र दशैँको वास्तविक महत्व सार्थक हुनेछ ।

आज देशले आर्थिक समृद्धि, सुशासन, रोजगारी र सामाजिक एकताको अपेक्षा गरिरहेको छ । यस्तो अवस्थामा दशैँले आपसी वैमनस्य बिर्सेर सहकार्य, सहिष्णुता र राष्ट्रिय एकताको भावना बलियो बनाउने अवसर प्रदान गर्छ । व्यक्तिगत र पारिवारिक खुशीसँगै समाज तथा राष्ट्रको उन्नतिका लागि सकारात्मक सोच, जिम्मेवार व्यवहार र सामूहिक प्रयत्न आवश्यक छ ।

दशैँको शुभ–सन्देश हाम्रो व्यवहारमा प्रतिविम्बित हुन सके यस पर्वको सांस्कृतिक र सामाजिक महत्व अझ बढ्नेछ । यस पावन अवसरमा हाम्रा समस्त पाठक, विज्ञापनदाता, शुभचिन्तक, सहयोगी तथा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

बडादशैँले सबैको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि र नयाँ उत्साह सञ्चार गरोस् । परिवारमा प्रेम र सद्भाव बढोस्, समाजमा एकता र सहिष्णुता कायम रहोस् तथा राष्ट्रमा सुशासन, विकास र समृद्धिको नयाँ आशा पलाओस् । विजयादशमीको पावन सन्देशले सबैमा सत्य, न्याय र सदाचारको मार्गमा अघि बढ्ने प्रेरणा प्रदान गरोस् । समस्त नेपालीमा बडादशैँको हार्दिक मंगलमय शुभकामना !

The full article is being collected. Available text is shown for now.

Back
Share this story

Get the daily newsletter →

Ask globalread.info

AI news & website helper
What would you like to explore?

I can find stories, explain headlines, or help you use globalread.info.

AI can make mistakes. Check the linked sources. Questions are sent to OpenAI.