नारायणी नदीमा बेपत्ता आमा-छोराको दुई दिनदेखि पत्तो छैन
चितवनको भरतपुर महानगरपालिका-१ स्थित नारायणी नदीमा खुट्टा धुने क्रममा बुधबार डुबेका ३२ वर्षीया सिर्जना शर्मा र उनका छ वर्षीय छोरा प्रसिद्ध पौडेलको दुई दिन बितिसक्दा पनि अवस्था पत्ता लाग्न सकेको छैन। सोही घटनामा डुबेकी ११ वर्षीया छोरी प्रसिद्धिको भने बुधबार नै सकुशल उद्धार गरिएको थियो।
बुधबार साँझ ६:४५ बजे पशुपति मन्दिर पछाडि नदीमा खुट्टा धुने क्रममा खैरहनी नगरपालिका-१ घर भई हाल भरतपुर महानगरपालिका-१२ मुनालचोकस्थित माइतमा बस्दै आएकी सिर्जना शर्मा, उनकी छोरी प्रसिद्धि पौडेल र छोरा प्रसिद्ध पौडेल डुबेका थिए। स्थानीयले जानकारी गराएलगत्तै खटिएको विपद्सहितको उद्धार टोलीले प्रसिद्धिको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले बताए। उनको अवस्था सामान्य छ।
खोजी कार्यमा सशस्त्र प्रहरीको गोताखोर टोली
बेपत्ता आमा सिर्जना शर्मा र छोरा प्रसिद्ध पौडेलको खोजी कार्य बुधबार साँझदेखि नै जारी छ। प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार, सशस्त्र प्रहरीको गोताखोर टोली र नेपाल प्रहरीले बिहीबार र आज दिनभरि नदीमा व्यापक खोजी गरे पनि उनीहरूको अवस्था पत्ता लाग्न सकेको छैन।
नारायणी नदीको गहिरो भाग र तीव्र बहावका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन्। परिवारका सदस्यहरू नदी किनारमा आशा र चिन्ताका साथ पर्खिरहेका छन्।
चाडपर्व लक्षित सुरक्षा योजना
सशस्त्र प्रहरी बल, नेपालले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको छ। यस योजनाअन्तर्गत २ सय ५१ वटा विपद् उद्धार टोली र ११ स्थानमा गोताखोर टोली २४सै घण्टा तयारी अवस्थामा रहने व्यवस्था गरिएको छ। चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले पनि जिल्लामा चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिएका छन्। बेपत्ता आमा-छोराको खोजी कार्य जारी रहने प्रहरीले जनाएको छ।
The full article is being collected. Available text is shown for now.