उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ्न थालेको छ ।
दसैँ मनाउन राजधानीमा अध्ययन, रोजगारी तथा विभिन्न पेसा–व्यवसायमा संलग्न मानिसहरू धमाधम गाउँ फर्कन थालेका छन् ।
काठमाडौं उपत्यकाका विभिन्न नाकामा देशका विभिन्न जिल्ला जाने लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा यात्रुको चहलपहल बढेको छ । दसैँमा परिवार तथा आफन्तसँग भेटघाट गरी चाडपर्व मनाउन यात्रुहरू गाउँ फर्किने क्रम बढेको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले दसैँ मनाउनका लागि काठमाडौंका विभिन्न नाका हुँदै सोमबार बिहानदेखि आज बिहानसम्मको २४ घण्टामा ५६ हजार ८०९ यात्रु बाहिरिएको जानकारी दिए ।
उनका अनुसार फर्पिङ नाकाबाट पाँच हजार ५१०, नागढुंगा नाकाबाट २७ हजार ६४९, थानकोट नाकाबाट ५६, भीमढुङ्गा नाकाबाट ५१३, तीनपिप्ले नाकाबाट ९७२, साँखु नाकाबाट ६०८, भक्तपुर नाकाबाट २० हजार ६१५ र भट्टेडाँडा नाकाबाट ८८६ यात्रु बाहिरिएका छन् ।
दसैँका लागि घर फर्किने यात्रुको संख्या बढेसँगै यातायात व्यवसायीलाई यात्रु व्यवस्थापन गर्न समस्या भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले बाटोको कारण यातायात व्यवस्थापनमा समस्या भएको बताए ।
‘दसैँको पूर्वसन्ध्यामा विभिन्न राष्ट्रिय राजमार्ग बिग्रिँदा सवारीसाधन समयमा गन्तव्यमा पुन्न तथा काठमाडौं आउन समस्या हुँदा सवारीसाधन व्यवस्थापनमा समस्या परेको छ,’ उनले भने ।
२३ असोजमा अग्रिम बस टिकट बुकिङ खुला गरेको दिन धादिङको गलौँदीस्थित पृथ्वी राजमार्ग भाँसिदा सवारीसाधन आवागमन अवरुद्ध हुँदा धेरै सवारीसाधन काठमाडौंमा रोकिँदा समस्या भएको महासचिव गौतमले बताए ।
महासंघले यात्रुलाई टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडा तिर्न र सवारीसाधनको अवस्था जाँच गरेर यात्रा गर्न आग्रह गरेको छ । दसैँले परिवार, आफन्त र समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने भएकाले रोजगारी तथा अध्ययनका लागि राजधानीमा बसोबास गर्दै आएका मानिसहरू चाडपर्व मनाउन घर फर्किने क्रम हरेक वर्ष बढ्ने गरेको छ ।
The post उपत्यका छाड्ने यात्रुको चाप उच्च appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more... .