भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुंगे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं । भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा झोलुंगे पुल मर्मत गरी सञ्चालनमा ल्याइएको छ ।
पूर्वाधार विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका अनुसार बाढीका कारण त्रिशूली करिडोरमा रहेका १८ वटा झोलुंगे पुलमा क्षति पुगेको थियो । ती सबै पुल मर्मत गरी सञ्चालनमा ल्याइएको कार्यालयका योजना प्रमुख सहसचिव शंकर बुढाथोकीले बताए ।
उनका अनुसार क्षतिग्रस्त पुलमध्ये ११ वटा झोलुंगे पुलमा बाढीका कारण लट्ठा बटारिएको, डेक तथा बिम बगाएको र साइडको जाली बगाएको लगायतका क्षति पुगेको थियो भने बाँकी सातवटा पुलमा सामान्य क्षति पुगेको थियो ।
अत्यधिक क्षति भएका ११ वटा पुलहरूको बटारिएका लठ्ठा सोझ्याउने, ह्यान्ड रेल केबल फेर्ने तथा नयाँ स्टिल डेक र बिम जडान गर्ने, साइडको जाली राखी मर्मत गरिएको थियो भने बाँकी सातवटा पुलहरूको सामान्य मर्मत गरी सञ्चालनमा ल्याइएको उनको भनाइ छ । ती पुल मर्मतका लागि करिब साढे पाँच करोड रूपैयाँ खर्च भएको उनको भनाइ छ ।
सहसचिव बुढाथोकीका अनुसार बृहत मर्मत गरिएका पुलमा नुवाकोटको बेलकोटगढी–७ र तारकेश्वर–२ जोड्ने पिमलटार जागाराम झोलुंगे पुल, सोही जिल्लाको वेलकोटगढी–५ देखि धादिङको गल्छी–१ जोड्ने फोस्रेटार झोलुंगे पुल, बेलकोटगढी–८ र विदुर नगरपालिका–३ जोड्ने जिलिङस्थित झोलुंगे पुल, धादिङको सिद्धलेक–३ देखि बेनीघाट रोराङ–३ जोड्न्े झोलुंगे पुल छन् ।
साथै, नुवाकोटको बेलकोटगढी–५ केउरेनी गहते र धादिङको गल्छी–१ जोड्ने झोलुंगे पुल, धादिङको सिद्दलेक–६ र गजुरी–१ जोड्ने् झोलुंगे पुल, धादिङकै गल्छी–१ र गल्छी–६ जोड्ने महेशदोभान मास्टार झोलुंगे पुल, गल्छी–१ र वडा नं ४ जोड्ने झोलुंगे पुल, गल्छी–२ र वडा नं ४ जोड्ने शीतलबजार क्युरेनीटार झोलुंगे पुल, नुवाकोटको बेवकोटगढी–५ र धादिङको गल्छी–२ जोड्न कोल्पु कल्लेरीघाट पुल र गोरखाको गण्डकी–७ र धादिङको बेनीघाट रोराङ–७ जोड्ने झोलुंगे पुलको पनि बृहत् मर्मत गरिएको थियो ।
साथै गोरखाको गण्डकी–८ र धादिङको बेनीघाट रोराङ–५ जोड्ने बादरे झोलुंगे पुल सामान्य मर्मत गरी सञ्चालनमा ल्याइएको छ ।
सामान्य मर्मत गरिएका अन्य पुलमा धादिङको सिद्धलेक–६ र गजुरी–२ जोड्ने बिहानी पम्प झोलुंगे पुल, जिल्लाकै सिद्धलेक–५ देखि बेनीघाट रोराङ–३ जोड्ने मलेखु झोलुंगे पुल, धादिङकै गल्छी २–४ जोड्ने बेल्खु भुतिया झोलुंगे पुल, गोरखाको सहिद लखन–४ देखि चितवनको इच्छाकामना–४ जोड्ने कुरिनटार (लेवाटार) झोलुंगे पुल छन् । साथै धादिङको गल्छी–२ र ४ जाड्ने महादेवस्थान झोलुंगे पुल र गोरखाको गण्डकी–६ र चितवनको इच्छाकामना–३ जोड्ने फिस्लिङ झोलुंगे पुल छन् ।
The post भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त १८ झोलुंगे पुल मर्मतपछि सञ्चालनमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more... .
The full article is being collected. Available text is shown for now.