Back

महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरुको प्रदर्शनी, ‘म उद्यमी’ ट्रेडमार्क प्रयोगमा

Story illustration

काठमाडौं । महिला उद्यमी महासंघ नेपाल(एफडब्लुइएएन)ले ‘म उद्यमी’ ट्रेडमार्क (सामूहिक चिन्ह) प्रयोगसँगै उत्पादनहरुको सामूहिक प्रदर्शन सुरु गरेको छ ।

एफडब्ल्युइएएनले बिहीबार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा पत्रकार सम्मेलन आयोजना गर्दै महिला उद्यमीका उत्पादनलाई ‘म उद्यमी’ ट्रेडमार्कमार्फत प्रवद्र्धन तथा बजारीकरण गर्ने अभियान अघि बढाइएको जानकारी दिएको हो ।

महासंघका अनुसार नेपाल सरकारबाट प्राप्त सामूहिक चिन्हमार्फत देशभरका महिला स्वामित्व वा महिला नेतृत्वमा सञ्चालित उद्यमका उत्पादनलाई एउटै ट्रेडमार्कबाट पहिचान गराउने उद्देश्य राखिएको छ । यसबाट महिला उद्यमीका उत्पादनको दृश्यता तथा पहिचान बढाउनुका साथै ग्राहकमा उत्पादनप्रति विश्वास सिर्जना हुने महासंघको अपेक्षा छ ।

महिला उद्यमी महासंघ नेपालले विगत २३ वर्षदेखि महिला उद्यमशीलताको विकास तथा प्रवद्र्धन र महिलाको सामाजिक तथा आर्थिक सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको जनाएको छ ।

‘म उद्यमी’ ट्रेडमार्कसहित आयोजना हुने प्रदर्शनीमा देशका विभिन्न जिल्लाका १०० भन्दा बढी महिला उद्यमीका उत्पादन प्रदर्शन गरिने महासंघले जनाएको छ । प्रदर्शनीमा करिब १०० वटा स्टल रहनेछन् । प्रदर्शनीमा प्राकृतिक रेसाजन्य वस्तु, ढाकाका सामग्री, गलैँचा, हाते कागजका सामान, जैविक खाद्य पदार्थ, कृषिजन्य उत्पादन, विभिन्न प्रकारका मूर्ति, गरगहना तथा सजावटका सामग्री राखिनेछन् ।

महासंघले विशेषगरी नेपालमा उपलब्ध स्थानीय कच्चा पदार्थमा आधारित कृषि तथा हस्तकलाका उत्पादन र मूल्य शृंखलामा आधारित वस्तुलाई प्राथमिकता दिइएको जनाएको छ । प्रदर्शनीमा विभिन्न जिल्लाका घरेलु, साना तथा मझौला महिला उद्यमी तथा व्यवसायीका साथै निर्यातकर्ताहरूको समेत सहभागिता रहनेछ ।

महासंघले ‘म उद्यमी’ ट्रेडमार्कमार्फत महिला उद्यमीका उत्पादनलाई स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन, ब्रान्डिङ, प्याकेजिङ तथा बजारीकरण गर्न सहयोग पुग्ने जनाएको छ ।

त्यस्तै, महिला उद्यमीका उत्पादनको गुणस्तर सुधार गर्न प्रोत्साहन गर्ने, व्यवसायिक पहिचान सुदृढ गर्ने तथा साझा ब्रान्डिङ प्लेटफर्म निर्माण गर्ने लक्ष्य राखिएको छ ।

महासंघका अनुसार ‘म उद्यमी’ ट्रेडमार्क योग्य र आधिकारिक महिला उद्यमीले स्वीकृति लिएर मात्र प्रयोग गर्ने व्यवस्था गरिनेछ । यसले महिला उद्यमीका उत्पादनको गुणस्तर र विश्वसनीयता कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

महासंघले ‘म उद्यमी’ ट्रेडमार्क अंकित वस्तुलाई सरकारी खरिद प्रक्रियामा प्राथमिकताका साथ खरिद गर्न पहल गर्ने जनाएको छ । स्थानीय, प्रदेश र संघीय तहमा यस्ता उत्पादनको बजारीकरण सहज बनाउने, स्थानीय स्रोतसाधन, सीप तथा पूँजीको अधिकतम सदुपयोग गर्ने तथा उत्पादन र बजारीकरणका लागि औद्योगिक ग्राम स्थापना गर्न सरकारसँग बजेट विनियोजनका लागि पैरवी गर्ने महासंघको योजना छ ।

त्यस्तै, ‘म उद्यमी’ ट्रेडमार्क प्रयोग भएका उत्पादनको प्रदर्शनी तथा बिक्रीका लागि विभिन्न तहमा प्रदर्शनी तथा बिक्रीस्थल स्थापना गर्न पहल गर्ने र उत्पादनको गुणस्तर वृद्धिका लागि तालिम सञ्चालन गर्न सरकारी बजेट विनियोजनका लागि पैरवी गर्ने महासंघले जनाएको छ ।

महिला उद्यमीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका अवलोकन भ्रमण तथा ‘लर्निङ भिजिट’ मा सहभागी गराउन सरकारबाट सहयोगका लागि समेत पहल गरिने बताइएको छ ।

महासंघले ‘म उद्यमी’ अभियानलाई व्यापारिक प्रदर्शनीमा मात्र सीमित नराखी महिला उद्यमशीलताको प्रवद्र्धन, सामाजिक तथा आर्थिक सशक्तीकरण, अनुभव आदानप्रदान र नयाँ बजारसँग महिला उद्यमीलाई जोड्ने महत्वपूर्ण अभियानका रूपमा विकास गर्ने जनाएको छ ।

महासंघले ‘म उद्यमी’ ट्रेडमार्कमार्फत महिला उद्यमीका उत्पादनको साझा पहिचान निर्माणसँगै महिला उद्यमीबीचको एकता र सामूहिक ब्रान्डिङलाई समेत प्रवद्र्धन गर्न खोजिएको जनाएको छ ।

स्रोत: Nepal News Bank

The post महिला उद्यमीहरुले उत्पादन गरेका सामग्रीहरुको प्रदर्शनी, ‘म उद्यमी’ ट्रेडमार्क प्रयोगमा appeared first on SanghuNews .

The full article is being collected. Available text is shown for now.

Back
Share this story

Get the daily newsletter →

Ask globalread.info

AI news & website helper
What would you like to explore?

I can find stories, explain headlines, or help you use globalread.info.

AI can make mistakes. Check the linked sources. Questions are sent to OpenAI.