Back

दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर

Story illustration

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँ नजिकिएसँगै देशभर उत्साह र उमङ्ग छाउने गर्छ । धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको दसैँ नेपाली समाजको मौलिक पहिचानसँग जोडिएको प्रमुख चाड हो ।

आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएर पूर्णिमासम्म मनाइने यस पर्वले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश दिन्छ ।

दसैँ धार्मिक आस्थाको पर्व मात्र नभई पारिवारिक पुनर्मिलनको अवसर पनि हो । रोजगारी, अध्ययन तथा विभिन्न कारणले घरपरिवारबाट टाढा रहेका सदस्यहरू यस अवसरमा घर फर्किने गर्छन् ।

परिवारका सदस्य, आफन्त र साथीभाइबीच भेटघाट हुने भएकाले यस पर्वले आपसी सद्भाव, प्रेम र एकतालाई बलियो बनाउँछ । मान्यजनबाट टीका र जमरा ग्रहण गर्दै सुख, शान्ति, समृद्धि तथा दीर्घायुको कामना गर्ने परम्परा नेपाली समाजमा विशेष महत्वका साथ कायम छ ।

उज्यालो र खुसीको पर्वका रुपमा हेरिने दसैँ अभिनेता राजेश हमालका लागि भने खल्लो हुने गर्छ । टिका कै दिन आमा गुमाउनुभएका अभिनेता हमाल दसैँलाई भव्य रुपमा मनाउँदैनन् ।

‘दसैँको दिन मैंले मुमा (आमा) गुमाएपछि मेरा लागि यो पर्वको उल्लास कम नै भएको छ । टिका कै दिन श्राद्ध पर्ने भएकाले सामान्य रुपमा दसैँ मनाउने गर्छु । यो वर्ष प्राकृतिक विपदका कारण धेरै नेपालीहरूको दसैँ खल्लो भएको सुनेको छु, तर संस्कृति संरक्षणका रुपमा यसलाई मनाउनु पनिपर्छ । किनकी यो पर्व हाम्रो संस्कृतिसँग जोडिएको छ’, अभिनेता हमालले भने ।

उनले दसैँलाई भड्किलो रुपमा नभई आफ्नो क्षमता अनुसार मनाउन आग्रह गरे । अभिनेता विजय बराल भने यसपटक दसैँ मनाउन गृह जिल्ला सर्लाही जाँदैछन् । विविध कारणले केही वर्ष उनी दसैँमा घर जान पाएका थिएनन् । आगामी कत्तिक ६ गतेदेखि प्रदर्शन हुने फिल्म ‘कबड्डी ५’ को प्रवद्र्धनको चटारो भएता पनि समय मिलाएर उनी घर पुग्दैछन् ।

‘यस वर्षको दसैँ सर्लाहीमै मनाउने तयारीका साथ म घर पुग्दैछु । यता फिल्म प्रमोसनका काम सकाएर घर पुगेर दसैँ मनाउनेछु । यद्यपि, फिल्म प्रदर्शन कत्तिक ६ मा हुने भएकाले टिका लगाएपछि काठमाडौँ नै आइपुग्ने छु । विगतका केहि वर्ष विविध कारणले घर पुग्न सकेको थिइन्, यसपटक गाउँघरमा दसैँ मनाउने योजनाले नै खुसी मिलिरहेको छ’, अभिनेता बरालले भने ।

उनलाई दसैँ भन्नासाथ नयाँ कपडा, विभिन्न पाक्वान(परिकार)हरू याद आउँछन् । विशेषत परिवारका सबै सदस्य भेला हुने भएकाले पनि दसैं उनको लागि खास छ । ‘बाल्यकालमा दसैँ भन्नासाथ सबै भेला हुने कुराले खुसी मिल्थ्यो । परिवारसँगै साथीभाई सबै भेला हुने गर्दथ्यौं, अनि दक्षिणा पनि पाइन्थ्यो । अहिले जिम्मेवारी बढेपछि ती समयहरू निकै प्यारा हुने रहेछन्’, उनले भने ।

अभिनेता बराल झैँ अभिनेत्री तथा गायिका कविता आलेलाई पनि दसैँ भनेको खुसी साट्ने पर्व जस्तो लाग्छ । अहिलेको दसैँ भन्दा उनलाई बाल्यकाल कै दसैँ प्यारो छ । ‘अहिले त भेटघाट हुने भन्ने लाग्छ, तर बाल्यकालमा भने धेरै रमाइलो लाग्थ्यो । भेटघाट, मिठा खानेकुरा, नयाँ कपडाले साचै दसैँलाई सबैको प्रिय बनाएको जस्तो लाग्छ । अहिले भने भेटघाट गर्ने र मीठोमसिनो खाने जस्तो लाग्छ’, उनले भनिन् ।

अभिनेता बुद्धी तामाङ पनि दसैँलाई भेटघाटको कारण खास मान्छन् । ‘यसपटकको दसैँमा दर्शक भेटघाट हुन्छ, विभिन्न हलमा घुमिन्छ, यस्तै हुन्छ जस्तो लागेको छ । दसैँ भन्ना साथ टिका, खानेकुरा र नयाँ कपडा नै सम्झना आउने रहेछ’, उनले भने ।

अभिनेता तामाङ अभिनित ‘कबड्डी ५’ प्रदर्शन हुने भएकाले उनले फिल्मका अन्य सदस्यसँगै दर्शकसँग साक्षात्कार गर्ने योजना बनाएका छन् । अभिनेता तामाङ जस्तै अभिनेत्री विपना थापा पनि दर्शकसँग दसैँ मनाउने तयारीमा छिन् । उनको अभिनय रहेको फिल्म ‘आ बाट आमा २’ आगामी असोज ३० देखि प्रदर्शन हुँदैछ । त्यसैले उनी यसपटक परिवारसँग कम र दर्शकसँग बढी दसैँ मनाउनेछिन् ।

‘फिल्म प्रदर्शनको कारण दसैँमा पनि हलमा नै घुमघाम गर्ने योजना बनिरहेको छ । आफ्नो मान्यजनबाट टिका थापेपछि हलमै दर्शकलाई भेट्ने छौँ । दसैँ भनेको उज्यालो, सद्भाव र हर्षको पर्व हो । विभिन्न कामले व्यस्त भएका सदस्यहरू भेटघाट गर्ने भएकाले यो पर्व मलाई खास लाग्छ’, उनले भनिन् ।

विवाह पश्चात प्राय भारतमा रहने अभिनेत्री थापा यसपटकको दसैँ नेपालमै मनाउँदैछिन । निर्देशक मिलन चाम्स यसपटक दसैँ मनाउन नेपाल बाहिर जाने भएका छन् । वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित रहेर तयार भइरहेको फिल्म ‘म मदनकृष्ण’ को पहिलो चरणको छायांकन सकाएका निर्देशक चाम्सले आफ्नो परिवारसँग घुमघाम गर्ने योजना बनाएका छन् ।

‘दसैँमा परिवार लिएर नेपाल बाहिर घुमघाम गर्ने छु । फिल्मको कामले प्राय परिवारलाई समय दिन सकिरहेका हुँदैनौं, त्यसैले समय मिलेको बेला परिवार लिएर घुम्ने गर्छु । हामीले फिल्मको पहिलोचरणको छायांकन सकाएका छौँ, दोस्रो चरण दसैँ पछाडि छायांकन हुनेछ, त्यसैले समयलाई सदुपयोग गरेको हुँ’, निर्देशक चाम्सले भने ।

अभिनेता दीपकराज गिरी यसपटक दसैँ आफन्तसँग कम र दर्शकसँग बढी मनाउने तयारीमा छन् । असोज ३१ देखि फिल्म ‘छ माया छपक्कै’ प्रदर्शन हुने भएकाले आफ्नो मान्यजनबाट टिका थापेपछि अभिनेता गिरी हलमै भेटिनेछन् ।

‘फिल्म प्रदर्शनको समय भएकाले विहानदेखि मध्यरातसम्म हलमै भेटिन्छु, टिका लगाएपछि बाँकी समय दर्शकसँगै दसैँ मनाउने तयारी छ । अघिल्लो वर्ष फिल्म आएको थिएन, त्यसैले परिवारसँग बढी समय बिताइयो । यो वर्ष फिल्म आउने भएकाले हाम्रो दोस्रो परिवार दर्शकसँग बढी समय बिताउने छु’, उनले भने ।

अभिनेता गिरीलाई पनि परिवार सदस्य र साथीभाईसँग भेटघाट हुने भएकाले दसैँ विशेष लाग्छ । अभिनेता दयाहाङ राई पनि दसैँको टिका पछि दर्शकसँग नै भेटघाट गर्दै दसैँ मनाउने योजनामा छन् ।

हाल फिल्म छायांकनको लागि काठमाडौँ उपत्यका बाहिर रहेका अभिनेता राई कत्तिक ६ देखि प्रदर्शन हुने फिल्म ‘कबड्डी ५’ प्रदर्शनपछि उपत्यकाका विभिन्न हलमा दर्शकसँगै दसैँ मनाउने तयारीमा छन् ।

स्रोत: Nepal News Bank

The post दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर appeared first on SanghuNews .

The full article is being collected. Available text is shown for now.

Back
Share this story

Get the daily newsletter →

Ask globalread.info

AI news & website helper
What would you like to explore?

I can find stories, explain headlines, or help you use globalread.info.

AI can make mistakes. Check the linked sources. Questions are sent to OpenAI.