श्रीमान् र घर खोसेको पहिरोले दिलमतीको दसैँ उजाड्यो, चिनाखेतका ४२ परिवार प्रभावित

म्याग्दी, ३० असोज । दसैँतिहारको चहलपहल बढिरहेका बेला बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्याललाई भने चाडपर्वको रौनकले छोएको छैन । पहिरोले श्रीमान्, घरगोठ र जीविकोपार्जनको आधार खोसेपछि उहाँलाई सुरक्षित बास र परिवारको भविष्यको चिन्ताले सताएको छ ।
पहिरोले सुतिरहेकै ठाउँमा पुरिँदा उहाँका श्रीमान् ७० वर्षीय लालवीर छन्त्यालको ज्यान गएको थियो । घरगोठसँगै पशुचौपाया र खेतीयोग्य जमिनसमेत गुमाएकी दिलमतीको शरीरमा लागेको घाउ निको हुँदै गए पनि आफन्त गुमाएको पीडा ताजै छ ।
“दुःख परेको समयमा चाडपर्व पनि नआए हुन्थ्यो जस्तो लाग्नेरहेछ,” उहाँले भन्नुभयो, “जीवनको सहारा श्रीमान्सँगै बस्ने बास पनि खोस्यो । चारवटा भैँसी र पाडासहितको गोठ बगायो । खेतीबाली लगाउने जमिन उराठलाग्दो बगर बनेको देख्दा मन थाम्नै गाह्रो हुँदोरहेछ ।”
दिलमतीले सात वर्षीय नाति दर्पणको ज्यान भने जोगाउनुभयो । पहिरो आएको थाहा पाएपछि नातिलाई झ्यालबाट बाहिर निकाल्ने क्रममा उहाँ आफैँ घाइते हुनुभएको थियो । नातिलाई बचाउन सके पनि श्रीमान्लाई बचाउन नसकेको सम्झनाले उहाँलाई सताइरहन्छ ।
दर्पणको लालनपालन हजुरबुबा लालवीर, हजुरआमा दिलमती र काकी गौमायाले गर्दै आएका थिए । हजुरबुबाको निधन र घर गुमेपछि बालकको आश्रयमा समेत सङ्कट थपिएको छ ।
दुई महिनामा दुईपटक विपद्
चिनाखेतवासीले यस वर्ष साउन ११ र असोज ११ गते गरी दुई महिनाको अन्तरमा दुईपटक बाढीपहिरोको सामना गर्नुपरेको छ । लगातारको विपद्ले बस्ती र खेतबारीमा क्षति पुर्याएपछि स्थानीय सुरक्षित बसोबासको विकल्प खोज्न थालेका छन् ।
स्थानीय शिक्षक चमेली थापाका अनुसार पहिरोले उठिबास लगाएपछि गाउँमा चाडपर्वको माहोल हराएको छ । जोखिम बढ्दै जाँदा थातथलो छाडेर अन्यत्र बसाइँ सर्ने क्रमसमेत बढेको उहाँले बताउनुभयो ।
बस्तीमाथिको पाखोमा सक्रिय पहिरो खोल्सामा मिसिएर गेगरसहित बस्ती र खेतबारीमा पस्ने गरेको छ । यसले घरमा बस्न र खेतीपाती गर्नसमेत कठिन बनाएको स्थानीयको भनाइ छ ।
वडाध्यक्ष पदम पुनका अनुसार साउन ११ गतेको पहिरोले लालवीर छन्त्यालको घरगोठ पूर्ण रूपमा क्षति गरेको थियो । असोज ११ गतेको बाढीले मोती पुन र लोकबहादुर पुनका घर पनि बस्न नमिल्ने बनाएको छ ।
१५० रोपनी जमिन बगर
बाढीपहिरोबाट चिनाखेतका ४२ घरपरिवार प्रभावित भएका छन् । करिब १५० रोपनीमा फैलिएको सुन्तला बगैँचा, कृषि फार्म, धानखेतलगायत खेतीयोग्य जमिन बगरमा परिणत भएको वडाध्यक्ष पुनले जानकारी दिनुभयो ।
व्यावसायिक सुन्तला र तरकारीखेतीमार्फत आम्दानी बढाउने स्थानीयको प्रयासमा विपद्ले धक्का दिएको छ । स्थानीय भवी छन्त्यालका अनुसार फल दिने अवस्थामा पुगेका करिब एक सय सुन्तलाका बोट रहेको उहाँको बगैँचा पहिरोले पुरेको छ ।
वर्षौँको मिहिनेत र लगानी नष्ट भएपछि किसानलाई दैनिक गुजारा कसरी चलाउने भन्ने चिन्ता थपिएको छ । कृषक धनबहादुर थापाले गाउँमै व्यावसायिक कृषि गरेर आत्मनिर्भर बन्ने योजनामा बाढीपहिरो बाधक बनेको बताउनुभयो ।
निजी सम्पत्तिसँगै सामुदायिक पूर्वाधारमा पनि क्षति पुगेको छ । चिनाखेत–डाँडाखानी खानेपानी योजनाको मुहानमा रहेको ट्याङ्की पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने हिमचुली स्पोर्ट्स क्लबको खेलमैदान र चिनाखेत आमा समूहको भवन पहिरोमा पुरिएका छन् ।
सुरक्षित बास र पुनःस्थापनाको माग
गाउँ जोखिममा परेपछि भूगर्भविद्को टोलीबाट पहिरोको स्थलगत अनुगमन गराइएको वडाध्यक्ष पुनले बताउनुभयो । पहिरो रोकथाम तथा नियन्त्रणका लागि बेनी नगरपालिका र प्रदेश सरकारसँग पहल भइरहेको उहाँको भनाइ छ ।
तर, पटकपटकको विपद्ले स्थानीयलाई गाउँ छाड्ने अवस्थासम्म पुर्याएको छ । स्थानीय मोती पुनले भन्नुभयो, “बस्ने बास र कमाउने जमिन नै नभएपछि गाउँ नै छोडेर जानुपर्ने अवस्था आएको छ ।”
प्रभावित बासिन्दाले अस्थायी आवास, सुरक्षित स्थानमा पुनःस्थापना तथा बाढीपहिरो नियन्त्रणको माग गरेका छन् । क्षतिग्रस्त खानेपानी योजना पुनर्निर्माण र खेतीबाट जीविका चलाउने परिवारका लागि आयआर्जनको विकल्प पनि उनीहरूको तत्कालको आवश्यकता बनेको छ ।
चिनाखेतमा यसपालि दसैँको तयारीभन्दा सुरक्षित रात बिताउने चिन्ता ठूलो छ । दिलमतीजस्ता परिवारका लागि चाडपर्वको खुसी फर्किनुअघि बस्ने बास र बाँच्ने आधार जुट्न आवश्यक छ ।
The post श्रीमान् र घर खोसेको पहिरोले दिलमतीको दसैँ उजाड्यो, चिनाखेतका ४२ परिवार प्रभावित appeared first on SanghuNews .
The full article is being collected. Available text is shown for now.