भदौसम्म ४ खर्ब ३६ अर्ब आयो विप्रेषण, ४० खर्ब ६५ अर्ब पुग्यो संचिति

काठमाडौं– चालु आर्थिक वर्षको भदौसम्ममा विप्रेषण आप्रवाह २३.९ प्रतिशतले बढेको छ । भदौसम्ममा ४ खर्ब ३६ अर्ब ३६ करोड विप्रेषण आएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौसम्मको आर्थिक एंव वित्तीय स्थिति अनुसार अघिल्लो वर्ष भदौसम्म विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । यो भदौमा मात्र विप्रेषण २ खर्ब २१ अर्ब ३१ करोड आएको छ । अघिल्लो वर्ष भदौमा १ खर्ब ७४ अर्ब ६७ करोड आएको थियो ।
भदौसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७८,३२० र पुन: श्रम स्वीकृति लिनेको सङ्ख्या ५२,१६३ रहेको छ । अघिल्लो वर्ष भदौसम्ममा यस्तो संख्या क्रमश: ९०,१९८ र ४५,८८४ रहेको थियो । बैंकका अनुसार भदौसम्ममा खुद सेवा आय २२ अर्ब ४ करोडले घाटामा छ । गत वर्ष भदौसम्ममा खुद सेवा आय ३० अर्ब ८८ करोडले घाटामा थियो । सेवा खाताअन्तर्गत भ्रमण आय २८.६ प्रतिशतले बढेर १४ अर्ब ९४ करोड पुगेको छ ।
गत वर्षको सोही अवधिमा यस्तो आय ११ अर्ब ६२ करोड रहेको थियो । यस्तै सेवा खाताअन्तर्गत भ्रमण व्ययमा १३.१ प्रतिशतले कमी भई ४१ अर्ब १० करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको व्यय २९ अर्ब ५५ करोड रहेको छ । अघिल्लो वर्षको यो अवधिमा भ्रमण व्यय ४७ अर्ब ३१ करोड रहेकोमा शिक्षातर्फको व्यय ३२ अर्ब ७६ करोड रहेको थियो ।
बैंकका अनुसार भदौसम्ममा चालु खाता १६९ अर्ब ४ करोडले बचतमा छ । गत वर्ष भदौसम्म चालु खाता १३० अर्ब ९७ करोडले बचतमा थियो । यसैगरी भदौसम्ममा २ अर्ब ९८ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । गत वर्ष प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब २७ करोड रहेको थियो ।
बैंकका अनुसार भदौसम्ममा शोधनान्तर स्थिति १८७ अर्ब ६८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष भदौसम्म शोधनान्तर स्थिति १५३ अर्ब ६८ करोडले बचतमा थियो । यस्तै गत असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चितिमा ४.३ प्रतिशतले वृद्धि भएको छ । भदौसम्ममा ४० खर्ब ६५ अर्ब ७८ करोड संचिति पुगेको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति ४.६ प्रतिशतले बढेर २६ अर्ब ४८ करोड पुगेको छ । चालु आवको दुई महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले २०.९ महिनाको वस्तु आयात र १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिन्छ ।
The full article is being collected. Available text is shown for now.