भदौसम्म निजी क्षेत्रतर्फको कर्जा वृद्धि १.६ प्रतिशत मात्र

काठमाडौं– चालु आवको भदौसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.६ प्रतिशत (९३ अर्ब ५२ करोड) ले बढेको छ । भदौसम्ममा कुल कर्जा ५९ खर्ब ५० अर्ब ५८ करोड पुगेको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको भदौसम्मको आर्थिक तथा वित्तीय प्रतिवेदन अनुसार अघिल्लो वर्ष भदौसम्ममा ०.९ प्रतिशत (४९ अर्ब २४ करोड) ले कर्जा बढेको थियो ।
वार्षिक विन्दुगत आधारमा २०८३ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको छ । भदौसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.५ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.५ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमश: ६२.८ प्रतिशत र ३७.२ प्रतिशत रहेको थियो ।
बैंकका अनुसार भदौसम्ममा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा १.७ प्रतिशत, विकास बैंकहरूकोे ०.६ प्रतिशत र वित्त कम्पनीहरूको १.४ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १५.६ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६२.८ प्रतिशत रहेको छ । गत वर्ष भदौ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमश: १५.१ प्रतिशत र ६४.३ प्रतिशत रहेको थियो ।
बैंकका अनुसार यो दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये खनिज क्षेत्रतर्फको कर्जा १०.४ प्रतिशत, यातायात उपकरण उत्पादन तथा मर्मत क्षेत्रतर्फको कर्जा ७.६ प्रतिशत, धातुजन्य उत्पादन, यन्त्र र विद्युतीय सामान उत्पादन तथा मर्मत क्षेत्रतर्फको ७.३ प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा ३.७ प्रतिशत, सेवा उद्योग क्षेत्रतर्फको कर्जा २.७ प्रतिशत, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा २.५ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा २.१ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.९ प्रतिशत र उपभोग्य क्षेत्रतर्फको कर्जा ०.२ प्रतिशतले बढेको छ ।
यस्तै वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा ४.७ प्रतिशत र कृषि क्षेत्रतर्फको कर्जा २.२ प्रतिशत घटेको छ । भदौसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये ट्रष्ट रिसिट (आयात) कर्जा ९.४ प्रतिशत, विपन्न वर्ग कर्जा ४.७ प्रतिशत, आवधिक कर्जा १.६ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) १.४ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा १.४ प्रतिशत र मार्जिन प्रकृति कर्जा ०.८ प्रतिशतले बढेको छ भने क्यास क्रेडिट कर्र्जा १.३ प्रतिशत, अधिविकर्ष कर्जा १.२ प्रतिशत, र हायर पर्चेज कर्जा ०.१ प्रतिशतले घटेको छ ।
यस्तै चालु आवको भदौसम्ममा सरकारको कुल खर्च १ खर्ब ९९ अर्ब ८४ करोड पुगेको छ । यसमध्ये चालु खर्च १ खर्ब २२ अर्ब ४ करोड, पुँजीगत खर्च ७ अर्ब ६६ करोड र वित्तीय व्यवस्था खर्च ७० अर्ब १४ करोड हो । राष्ट्र बैंकले सार्वजनिक गरेको भदौसम्मको आर्थिक तथा वित्तीय प्रतिवेदन अनुसार यो अवधिमा सरकारको कुल राजस्व (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) १ खर्ब ८३ अर्ब २१ करोड संकलन भएको छ ।
यस अन्तर्गत कर राजस्व १ खर्ब ७२ अर्ब ४३ करोड र गैर कर राजस्व १० अर्ब ७८ करोड हो । यस्तै यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ०.९ प्रतिशत (.७२ अर्ब ८० करोड) ले बढेर ८३ खर्ब ४९ अर्ब ७२ करोड पुगेको छ । अघिल्लो वर्ष भदौसम्म निक्षेप ०.५ प्रतिशत (३२ अर्ब ८६ करोड) ले बढेको थियो । भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३३.३ प्रतिशत छ भने गत भदौमा यस्तो निक्षेपको अंश ३५.२ प्रतिशत थियो ।
The full article is being collected. Available text is shown for now.