कांग्रेस महाधिवेशनको मतगणना आज सकिने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतगणनाको सम्पूर्ण परिणाम बिहीबार रातिसम्म सार्वजनिक गर्ने तयारी गरिएको छ ।
निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार बाँकी पदहरूको मतगणना सम्पन्न गरी आज रातिसम्म सबै परिणाम सार्वजनिक गरिनेछ ।
सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्री पदको मतगणना सम्पन्न भइसकेको छ । अहिले केन्द्रीय सदस्यका विभिन्न समूहको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ ।
मतगणना सम्पन्न भएपछि शुक्रबार नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्नेछ । बैठकमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ लिने कार्यक्रम रहेको छ । त्यसपछि महत्वपूर्ण निर्णय गरी दसैँ बिदा दिने तयारी गरिएको छ ।
सभापतिमा गगन थापा निर्वाचित भएका छन् । त्यस्तै, उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन् ।
महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला निर्वाचित भएका छन् । सहमहामन्त्रीतर्फ खुला समूहबाट अजयबाबु शिवाकोटी र रामहरि खतिवडा निर्वाचित भइसकेका छन् ।
केन्द्रीय सदस्यतर्फ भने खुला, महिला, प्रदेशगत, समावेशी तथा अन्य समूहको मतगणना भइरहेको छ । खुला केन्द्रीय सदस्यका ४५ पदका लागि प्रतिस्पर्धा भएकाले मतगणनामा समय लागेको निर्वाचन समितिले जनाएको छ ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा विभिन्न समूह बनाएर मतगणना भइरहेको छ । ठूलो सङ्ख्यामा मतपत्र गणना गर्नुपर्ने भएकाले बाँकी परिणाम सार्वजनिक गर्न समय लागेको समितिको भनाइ छ ।
निर्वाचन समितिले बाँकी सबै समूहको मतगणना आजै सम्पन्न गरी सम्पूर्ण परिणाम सार्वजनिक गर्ने लक्ष्य राखेको छ ।
The full article is being collected. Available text is shown for now.