पूर्वराजा ज्ञानेन्द्र शाहको टिप्पणी : देश अस्तव्यस्त छ, राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्छ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले देश अस्तव्यस्त अवस्थामा रहेको बताएका छन् । बडादसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक, प्रशासनिक तथा व्यावसायिक क्षेत्र अन्योल र अलमलमा रहेको बताएका हुन् ।
उनले राज्य प्रणालीलाई कसरी अघि बढाउने, प्रजातान्त्रिक आधारलाई कसरी बलियो बनाउने र अर्थतन्त्रलाई कसरी उकास्ने भन्ने प्रश्न उठिरहेको उल्लेख गरेका छन् ।
“हाम्रो राज्य प्रणालीलाई कसरी लाने, हाम्रा प्रजातान्त्रिक आधारलाई कसरी बलियो पार्ने, हाम्रो अर्थतन्त्रलाई के गरेर उकास्ने भन्ने सवाल यतिबेला किन उत्पन्न भएको छ ?” उनले प्रश्न गरेका छन् ।
विद्यमान अवस्थालाई सुधार गर्दै प्रजातान्त्रिक विधि र प्रक्रियालाई सुदृढ बनाउनुपर्नेमा जोड दिँदै उनले विश्वपरिवेश र भूराजनीतिक परिस्थितिलाई ध्यानमा राखेर राष्ट्रियता तथा मौलिक मूल्यलाई दृढ बनाउन आवश्यक रहेको बताएका छन् ।
भोटेकोसी बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि बाह्य सहयोग लिँदा देशको स्वाभिमान र स्थानीय परम्पराको संरक्षण हुने गरी कूटनीतिक चातुर्य अपनाउन पनि उनले सुझाव दिएका छन् ।
“नेपाल केवल भूगोल मात्र होइन, यो हाम्रो साझा इतिहास, आस्था, संस्कृति, परम्परा अनि चिनारी पनि हो,” शुभकामना सन्देशमा उनले भनेका छन् ।
देश कठिन परिस्थितिमा रहेका बेला आपसी भाइचारा कायम राख्न, एक क्षेत्रका नागरिकको पीडामा अर्को क्षेत्रका नागरिकले साथ दिन र राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नुपर्नेमा उनले जोड दिएका छन् । राष्ट्रिय हितलाई प्राथमिकता दिनु नै साँचो देशभक्ति भएको उनको भनाइ छ ।
The full article is being collected. Available text is shown for now.